काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट र योजना जनसंख्याको आधारमा मात्र होइन भौगोलिक अवस्था हेरेर पनि बिनियोजन गर्नुपर्ने बताउनुभएको छ ।
अन्तर प्रदेश परिषदको तेस्रो बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारले विकासलाई समन्वय गरेर अघि बढाउनु पर्ने बताउनुभएको छ । उहाँले वर्तमान सरकारको मूख्य लक्ष्य सुशासन सहित संघीयताको कार्यन्वयन र विकास भएको बताउँदै विकास र समृद्धिको पक्षमा सबैले एकजुट भएर लाग्नु पर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले एउटै योजनामा तानातान गर्ने भन्दा पनि तीनै तहका सरकारले समन्वय र योजना नदोहोरिने गरी बजेटमा समावेश गर्नुपर्ने बताउनुभएको छ । विकासका काममा पक्ष विपक्षमा बिभाजित हुनु नुहने प्रधानमन्त्री ओलीको भन्नुभयो, “सबै मिलेर देशलाई समृद्ध बनाउने हो । यसमा पक्ष विपक्ष भइरहनु हुदैन ।”
प्रधानमन्त्री ओलीले देशको समुचित र सन्तुलित विकासका लागि सबै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले योजना र बजेट जनसंख्याका आधारमा मात्र वितरण गर्ने हो भने दुर्गम क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “बजेट र योजना जनसंख्याको आधारमा मात्र होइन भौगोलिक अवस्था हेरेर पनि बिनियोजन गर्नुपर्दछ, विकट भौगोलिक क्षेत्रमा बस्ती पनि पातलो हुन्छ विकासको खर्च पनि महंगो हुन्छ । त्यसकारण एउटा मात्र आधारमा बजेट विनियोजन गर्ने हो भने त्यस्ता ठाउँका जनताले विकासको अनुभूित गर्न पाउदैनन् ।”
प्रधानमन्त्री ओलीले प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट बनाउँदा प्रचारमुखी भन्दा दीर्घकालिन योजनाहरुलाई प्रथामिकतामा राख्न आग्रह गर्दै स्थानीय, प्रदेश र संघीय सरकारले संयुक्त रुपमा यस्ता बस्ती पहिचान गरेर एकिकृत गर्नु पर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्