भक्तपुर, १६ वैशाख । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. ४ र ५ जोड्ने कौंगा ताँःदेखि लाभाडोलसम्मको सडक स्तरोन्नतीको लागी आज शिलान्यास गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त सडकको शिलान्यास गर्नुभएको हो ।
क्षेत्र विकास कोष (सांसद कोष) अन्तर्गत सांसद बस्नेतले रु ५० लाख, प्रदेश सरकारको तर्फबाट रु ५० लाख र नगरपालिकाको तर्फबाट रु ३० लाख गरी जम्मा एक करोड ३० लाखको लागतमा उक्त सडक स्तरोन्नतीको काम शुरु गरीएको हो । ६ मिटरको चौडाईमा बन्ने उक्त सडकको आगामी आर्थिक वर्षमा काम सम्मन्न गर्ने लक्ष्य बनाइएको छ ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले तिव्र विकास र समृद्धि अहिलेको अनिवार्य आवश्यकता रहेको बताउँदै अब भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्ने दिनको शुरु भएको बताउनुभएको छ । हरेक दिन विकासमा एक कदम अघि बढ्नुपर्ने बताउँदै सांसद बस्नेतले प्रत्येक वडामा मूल सडक राजमार्गसँग जोडि चारै दिशासँग सहज रुपमा आवात जावतलाई सहजता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले आफ्नो चुनावि प्रतिवद्धता अनुसार मात्र नभई जनताको चाहना अनुसार भक्तपुरमा तिव्र विकास भएको बताउँदै यो वा त्यो बहानामा विकास रोक्न नपाउने बताउनुभयो । भौतिक विकास नै अहिलेको प्रमुख विषय भएको बताउँदै उहाँले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरे कारवाहीको भागिदारी हुने समेत चेतावनी दिनुभयो ।
अवका दिनमा भक्तपुर बक्तिमुनीको अध्यारो नभई अन्य जिल्लाको लागि विकास र समृद्धिको मार्गदर्शक समेत भएको बताउनुभयो । पछिल्लो समय विकास हेर्न र सिक्नलाई भक्तपुर जानुपर्छ भन्ने देशभर चर्चाको विषय बनिरहेको जानकारी गराउँदै उहाँले आफ्नो कार्यकाल भरमा भक्तपुरमा विकासको उज्यालो बक्ति बल्ने समेत बताउनुभयो ।
उहाँले भक्तपुरको विकासमा आर्थिक रुपमा कुनै पनि समस्या नहुने समेत बताउनुभयो । उहाँले सरकारले नयाँ बजेट ल्याउने तयारी गरिरहेको जानकारी गराउँदै आगामी बजेटले समेत भक्तपुरलाई भरपुर मात्रामा समेट्ने बताउनुभयो । उहाँले जनताको चाहना अनुसारको विकासका योजना आएमा कुनै पनि समस्या आउन नदिने बताउँदै भक्तपुरलाई भौतिक विकासको साथमा कला, संस्कृति, पर्यटकीय, धार्मिक सम्पदाको रुपमा विकास गर्दै आर्थिक रुपमा सवल र सक्षम बनाउने योजनाका साथ योजनाहरु अघि बढिरहेको बताउनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु समेत निर्माण कार्य अघि बढिरहेको बताउँदै त्यसलाई सफल बनाउन तीनै तहका सरकार तथा जनताको साथ र सहयोग अपरिहार्य भएको बताउनुभयो । उहाँले भक्तपुरमा आधुनिक वीर अस्पताल, सुविधा सम्पन्न सभागृह, रंगशाला, प्राणी उद्यान केन्द्र, स्मार्ट सिटी लगायतका आयोजनाहरु निर्माणको चरणमा रहेको जानकारी गराउनुभयो ।
उहाँले सडक सञ्जालमा भक्तपुरले ठूलो फड्को मारेको बताउँदै कोटेश्वरको जामलाई न्युननिकरण गर्नु अहिलेको अपरिहार्य भएको बताउनुभयो । उहाँले हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण सम्पन्न भए पश्चात अरनीको राजमार्ग तथा कोटेश्वर–जडिबुटीमा हुने सवारी जामको अन्त्य हुने समेत बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठ, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी लगायतका सरोकारवाला निकाय तथा स्थानीयवासीको उपस्थिती रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्