Banner News

राष्ट्रपति भण्डारी र सि जिनपिङ भेटवार्ता : पारवहन प्रोटोकलमा हस्ताक्षर हुने



काठमाडौँ, १६ वैशाख । चीन भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न चिनियाँ समकक्षी सि जिनपिङसँग भेटवार्ता गर्नुहुने भएको छ ।

भेटवार्ताका क्रममा नेपाल-चीन पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर समेत हुने जनाइएको छ । दुवै मुलुकका राष्ट्र प्रमुखको उपस्थितिमा आजै सोमबार नेपाली प्रतिनिधि र चिनिया अधिकारीले हस्ताक्षर गर्ने बताइएको छ ।

प्रोटोकलमा हस्ताक्षरपछि नेपालको पहुँच उत्तरतर्फको समुद्रसम्म पुग्नेछ । हाल दक्षिणी छिमेकी भारतीय समुद्रतटसम्म मात्र नेपालको पारवहन पहुँच रहेको छ । अहिलेसम्म नेपालले भारतको भूमिबाट मात्र तेस्रो मुलुकसँग सामुद्रिक बन्दरगाहबाट व्यापार गर्दै आएकोमा चीनको सो सहमति कार्यान्वयन भए भारतसँगको निर्भरता घट्ने छ ।

नेपालले भारतको भूमिबाट मात्र तेस्रो मुलुकसँग सामुद्रिक बन्दरगाहबाट व्यापार गर्दै आएको छ। यद्यपि, नेपालको चीनतर्फ जोड्ने सडक अझै सवल छैन। तर, समस्या पर्दा वा केरुङसम्म रेल आएको खण्डमा सहज पहुँच देखिन्छ। भारतको बन्दरगाहबाट काठमाडौं ल्याउन समय लाग्ने हुँदा सिगात्सेसम्म रेल र त्यहाँबाट केरुङ वा तातोपानी गाडीमा ल्याउने विकल्प पनि खुला हुनेछ।

यसबाहेक द्विपक्षीय वार्तामा पारस्परिक महत्त्वका साथै नेपालको चौतर्फी विकासका पक्षमा थप सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । बेल्ट एन्ड रोड इनिसियटिभ भित्र रहेका केही परियोजनालाई दुईपक्षीय रूपमा सहकार्य गर्न पनि त्यो प्रकारको सहमति गर्न लागिएको मन्त्री ज्ञवालीले बताउनु भयो । चोरी–निकासी नियन्त्रण, गुणस्तर कामय गर्ने, सूचना आदानप्रदान, सीमा भन्सार व्यवस्थित गर्नेजस्ता विषयमा केही सहमति र छलफल हुने छ।

गणतन्त्र स्थापनाको दशकपछि नेपाली राष्ट्रपतिको राजकीय चीन भ्रमणको अवसरमा चिनियाँ राष्ट्राध्यक्षसँग द्विपक्षीय औपचारिक वार्ताले यो अवसरलाई झन् बलियो बनाएको छ। भेटवार्ताबाट नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बलियो बनाउने आशा लिएको छ। चीनसँगको सम्बन्धमा नयाँपन आउने विश्वास पनि उत्तिकै छ। पुरानो सम्बन्धलाई नवयुगसँगै नवीकरण गरिने धारणा परराष्ट्रमन्त्री ज्ञवालीको छ।

बीआरएफको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको समापनसँगै जारी गरिएको ३८ बुँदे संयुक्त वक्तव्यमा नेपालमा चीनले ल्याउने रेलमार्गको विषय पनि समेटिएको छ ।

भेटवार्तामा नेपालले चिनियाँ राष्ट्रपति जिनपिङको नेपाल भ्रमणको विषयबारे छलफल हुने र उहाँलाई भ्रमणका लागि निम्तो दिने बताइएको छ ।