राजनीति

भक्तपुरमा विकासको ठूलो क्रान्ति, बजेट एक रुपैंया पनि फ्रिज हुन दिदैंनौं : सांसद बस्नेत



भक्तपुर, १६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योमगन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले यो वर्ष भक्तपुरमा विकासले ठूलो क्रान्ति गरेको वर्ष भएको बताउँदै भक्तपुरमा विकास निर्माणमा आएको कुनै पनि शिर्षकका बजेट एक रुपैंया पनि फ्रिज हुन नदिने बताउनुभएको छ ।

आज सूर्यविनयाक नगरपालिकाको वडा नं. १ र ४ जोड्ने चरखण्डी खोलाको पुलको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको सडक, ढल, करिडोर तथा राष्ट्रिय गौरवका बहुवर्षिय आयोजनाका माध्यमबाट विकास भइरहेको बताउनुभयो । उहाँले भक्तपुरको इतिहासमा नै एकै वर्ष करिव २० वटा निर्माणको प्रकृयामा रहेको जानकारी गराउँदै अगामी वर्ष आवश्यक पुल बनाइसकियो भनि घोषणा गर्ने वर्ष हुने समेत बताउनुभयो ।

सांसद बस्नेतले तीनै तहको सरकारको समन्वयमा सडक, ढल तथा अन्य विकास र विस्तार भइरहेको बताउँदै हनुमन्ते नदीमा आठवटा ठूला पुलहरु तथा भक्तपरमा एक दर्जनभन्दा बढी साना पुलहरु बनिरहेको जानकारी गराउनुभयो । उहाँले भक्तपुरको उत्तर दक्षिणलाई सडक सञ्जालले जोड्नु अहिलेको अनिवार्य आवश्यकता रहेको बताउँदै उत्तर दक्षिण जोड्ने चारवटा ठूला तिव्र गतिमा निर्माणको प्रकृयामा रहेको जानकारी गराउनुभयो । त्यस्तै उहाँले डोके खोला पुलले शिलान्यासको प्रतिक्षामा रहेको समेत जानकारी गराउनुभयो ।

डोलिडारको तर्फबाट पाँच वटा पुल टेण्डरको प्रकृयामा गएको जानकारी गराउँदै सांसद बस्नेतले एक वडामा एक मूख्य सडक अनिवार्य भन्ने मुल सिद्धान्त नै बनाई जनप्रतिनिधि तथा सूर्यविनायक नगरपालिका लागि परिरहेको बताउनुभयो । उहाँले सडक पूर्वाधारको आवश्यकता रहेको सूर्यविनायक नगरपालिकामा ठूला/साना सडकहरु निर्माण तथा टेण्डरको प्रकृयामा रहेको समेत बताउनुभयो ।

विकास निर्माणमा आगामी दिनमा कुनै ढिलाई नहुने र हुन नदिने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले खानेपानी, ढल, सडकको विस्तार तिव्र गतिमा अघि बढेको बताउनुभयो । उहाँले भक्तपुरमा ५९ सडकहरु निर्माण तथा टेण्डरको प्रकृयामा रहेको जानकारी गराउँदै सडकबाट थप यो वर्ष १६ वटा सडकहरु डिपिआरको प्रकृयामा रहेको बताउनुभयो ।

सूनपा आगामी चार पाँच वर्षमा विकसित नपा हुने दावी गर्दै सांसद बस्नेतले बहुवर्षिय ढलको लागि चारवटा वडा यो आर्थिक वर्षमा पार्ने र अर्को आगामी वर्षमा पार्ने आवश्यक प्रकृया अघि बढिसकेको जानकारी गराउनुभयो । अर्को आर्थिक वर्षमा सडक विकासको लागि आवश्यक बजेट व्यवस्थापन गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

खानेपीको समस्या समाधान गर्न साँगामा महादेव खोलाको ड्याम बनाउने प्रकृयामा अघि बढिरहेको बताउँदै उहाँले ग्रामिण पर्यटकिय क्षेत्रको रुपमा घोषणा गर्न विशेष पहल भइरहेको जानकारी गराउनुभयो । उहाँले भक्तपुरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न भ्युटावर सञ्चालन गर्ने, नीजि क्षेत्रको लगानीमा प्याराग्लाईडिङ्को शुरु, बन्जी जम्पको तयारी समेत भइरहेको, नैचाल र काँक्रावारीमा इको हामे स्टेको विकास गर्ने, शिव सर्किट, २२ वटा मन्दिरहरु निर्माणका प्रकृयामा रहेको, सूनपा वडा नं. ५ र ६ मा नयाँ रात्री सांस्कृतिक क्षेत्रको विकास गर्दै भक्तपुरको कला, संस्कृति, परम्परा लगायतका देखाउने लगायतका कार्यहरु गरी पर्यटकीय र आध्यात्मीक विकास गराई भक्तपुरलाई आर्थिक रुपमा विकसित तथा परिस्कृत बनाउने योजना रहेको बताउनुभयो ।

राष्ट्रिय गौरवका ठूला आयोजनाको लागि विशेष पहल भइरहेको बताउँदै सांसद बस्नेतले बाहिरी चक्रपथ निर्माणको प्रकृया भक्तपुरबाट शुरु हुने बताउनुभयो । उहाँले प्राणी उद्यान केन्द्र र सभागृह बनाउन विदेशीले लगानी गर्न विशेष चासो दिएको र त्यसको निम्ती पटक पटक लगानी कर्तासँग छलफल भइरहेको र तत्कालै निष्कर्षमा पुग्ने समेत बताउनुभयो ।

स्मार्ट सिटी निर्माण गर्ने प्रकृयाको डिपिआर अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षबाट स्मार्ट सिटी बनाउने काम सुरु हुने बताउँनुभयो । उहाँले भक्तपुर विकासमा सरकारको बजेट नआए पनि विकास गर्न सकिन्छ भन्ने उदाहरणीय काम गरेर देखाउने समेत प्रतिवद्धता जनाउनुभयो ।