समाचार

नयाँबानेश्वर वृत्तका प्रमुख काफ्लेसहित ७ प्रहरी अधिकृत पुरस्कृत



काठमाडौं, १८ बैशाख । महानगरीय प्रहरी परिसर काठमाडौंले सो परिसर अन्तर्गत विभिन्न वृत्तको प्रमुख भई काम गर्दै आएका ३ जना प्रहरी नायव उपरिक्षक (डिएसपि) तथा ४ जना प्रहरी निरीक्षकलाई प्रहरी अभिलेखमा उल्लेख हुने गरि नगदसहित पुरस्कृत गरेको छ ।

नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी इमान्दारीपुर्वक लगनशिल र कर्तव्यनिष्ठ भई अपराध नियन्त्रण गर्दै आम जनसमुदायमा प्रहरीको छवि सकारात्मक राख्न सकृय रहेवापत ति प्रहरी नायव उपरिक्षक र प्रहरी निरीक्षकलाई नगदसहित पुरस्कृत गरिएको काठमाडौं परिसर प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपि) बसन्त कुमार लामाले बताएका छन ।

यसरी नगद पुरस्कार सहित पुरस्कृत हुने प्रहरी नायव उपरिक्षकहरुमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, गोविन्दराज काफ्ले, प्रहरी वृत्त स्वयम्भुका प्रमुख, सुधिर राज शाही र प्रहरी वृत्त कालीमाटीका प्रमुख, देवेन्द्र बहादुर पाल छन । उनीहरुलाई जनही नगद १ हजार ५०० सहित प्रहरी अभिलेखमा उल्लेख हुने गरि पुरस्कृत गरिएको हो ।

यसैगरि जनही नगद १ हजार २०० सहित पुरस्कृत हुने प्रहरी निरीक्षकहरुमा महानगरीय प्रहरी वृत्त काँडाघारीका प्रमुख, सुधिर कुमार राई, प्रहरी वृत्त कमलपोखरीका हर्कबहादुर विश्वकर्मा, सिहंदरवार वृत्तका भोजराज पाण्डे र साँखु प्रभागका लक्ष्मी पाण्डे खनाल छन ।

पुरस्कृत भएका ७ जना प्रहरी अधिकृतहरुमध्ये नयाँबानेश्वर वृत्तका प्रमुख डिएसपि गोविन्दराज काफ्ले र सोही वृत्त अन्तर्गतको काँडाघारी प्रभागका प्रमुख प्रहरी निरीक्षक सुधिरकुमार राई पुरस्कृत भएका हुन । उनीहरु एकैै वृत्तका प्रमुख र अधिकृत हुन ।

विशेष गरि अवैध घरेलु मदिरा उत्पादन, विक्री वितरणमा नियन्त्रण गरि २० हजार भन्दा बढी लिटर अवैध मदिरा जफत गरी नष्ट गरेको, हत्या, वलात्कारजस्ता जघन्य अपराधीहरुलाई पक्रेर कारवाही गर्न सफल भएको, जुवाडेहरु पक्राउ गरि राजश्व संकलनमा महत्वपूर्ण योगदान गरेको लगायत ठुलो संख्यामा चोरी, डकैती र पाकेटमारलाई समातेर कारवाही गर्न सफल भएको कामको मुल्यांकन गरि डिएसपि काफ्लेलाई पुरस्कृत गरिएको उल्लेख गरिएको छ ।

डिएसपि काफ्ले प्रमुख रहेको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले सो वृत्त मातहत पर्ने विभिन्न ८० वटा विद्यालय र कलेजमा सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय प्रहरी समन्वय समिति गठन गरि विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई अपराध नियन्त्रणसम्वन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

डिएसपि काफ्लेलाई गत महिनामात्रै संघीय संसदका सभामुख कृष्ण बहादुर महराले नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा ५ हजार नगदसहित पुरस्कृत गरेका थिए ।