Banner News

उडिसामा समुद्री आँधी फानी, नेपालमा पनि केही प्रभाव पर्न सक्ने



काठमाडौँ, २० वैशाख । शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रवार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको जनाएको छ बीबीका अनुसार बङ्गाल खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ ।

आँधीको प्रभावले त्यहाँ वर्षा हुन सुरु भएको छ । भारतको मौसम विभागका अनुसार फानी ओडिशाको पुरीमा आइपुगेको छ ।  पूर्वानुमान महाशाखाका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्ने जनाएको छ ।

नेपालमा शुक्रवार पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरि वर्षा हुने अनुमान मौसवविद्हरुको छ । नेपालको उच्च हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको बताइन्छ। फानी र पश्चिमी वायुको प्रभाव शनिवारपछि कमजोर हुने र आइतवारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ ।