पोखरा, २० बैशाख । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा बिहिबारदेखि पोखरामा विपदमा स्वास्थ्य इञ्जीनियरिङ्ग विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले विश्वविद्यालय ज्ञान र तथ्यहरु उत्पादनको थलो भएको बताउनुभयो । विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई नीतिगत रुपमा कार्यान्वयनमा राजनीतिक तथा विकास कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो । पोखरा र आसपासका क्षेत्र पनि विपदको उच्च जोखिममा पर्ने भएकाले मेयर जिसीले सम्मेलनका विभिन्न निश्कर्षहरुलाई कार्यान्वयन गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालमा स्वास्थ्य इञ्जीनियरिङ्गको अध्ययन अध्यापन भर्खर शुरु हुन थालेकोमा यस्ता सम्मेलनहरुले यो विषय तर्फ विद्यार्थीहरुको आकर्षण बढाउने पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले बताउनुभयो । पोखरा विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा जनस्वास्थ्य तथा विपद इञ्जीनियरिङ्गको अध्ययन अध्यापन केन्द्रीय आंगिक कलेजमा शुरु गराएको पनि उहाँले बाउनुभयो । यो विषयको अध्ययन अध्यापन नेपालमा मात्र नभइ दक्षिणपूर्वि एसियामा नै पहिलो पटक पोखरा विश्वविद्यालयले शुरु गरिरहेको छ ।
सम्मेलनको उद्घाटन सत्रलाई विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर भीमप्रसाद सुवेदी, ईञ्जीनियरिङ्ग अध्ययन संस्थानका पूर्व डिन प्राध्यापक डाक्टर भरतराज पहारी, संयुक्त राष्ट्र संघका लागि विपद जोखिम न्युनिकरण विज्ञ ग्यारे डे ला पोमेराइ र ओभिएडो विश्वविद्यालय, स्पेनका प्राध्यापक डाक्टर पेड्रो इग्नासियो गोन्जालेजले पनि आफ्नो धारणाराख्नुभएको थियो ।
सम्मेलनमा सहभागी हुनका लागि नेपालबाहेक स्पेन, साइप्रस, बेलायत, पोर्चुगल, उज्वेकिस्तान, इटाली, थाइल्याण्ड, भारत लगायत १० देशका ३०० भन्दा बढिले सहभागिता जनाउने सम्मेलनका संयोजक प्राध्यापक डाक्टर विनय कुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार नेपालका विभिन्न विश्वविद्यालय तथा संघ संस्थाहरुबाट जनस्वास्थ्य, विपद व्यवस्थापन तथा इञ्जीनियरिङ्ग क्षेत्रका विज्ञहरु, पेशाकर्मीहरु र विद्यार्थीहरुले सम्मेलनमा सहभागिता जनाउन पोखरा आइसकेका छन् ।
करिब १५ लाखको लागतमा सम्पन्न हुने सम्मेलनका लागि पोखरा विश्वविद्यालयसँग विश्वविद्यालय अनुदान आयोग, युरोपियन युनियनको इरासमस प्लस परियोजना, स्फेरा परियोजना तथा एनआइसी एसिया बैंकले सहकार्य गरिरहेका छन् ।
सम्मेलनका तीन दिनहरुमा विपद व्यवस्थापन, वातावरण, विपदमा जलसम्पदाको संरक्षण, जलवायु परिवर्तन, स्मार्ट सहर तथा भवन निर्माण, विपद व्यवस्थापनमा सुचना प्रविधिको प्रयोग, विपदमा स्वास्थ्य जोखिम र मनोविज्ञान जस्ता विभिन्न मुद्दाहरुमा केन्द्रीत रहेर ४५ वटा कार्यपत्रहरुमाथि विभिन्न दशवटा समानान्तर सत्रहरुमा छलफल हुने आयोजक समितिका सदस्य तथा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेसका निर्देशक डाक्टर डमरु प्रसाद पनेरुले बताउनुभयो ।
सम्मेलनका निश्कर्षहरुले स्थानिय, प्रादेशीक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत नीति निर्माण तहमा महत्वपूर्ण भूमिका खेल्ने उनको बुझाई छ । उहाँले भन्नुभयो, “नेपालमा भर्खर शुरु भएको यो नयाँ विषयको संस्थागत विकासका लागि अन्तर्राष्ट्रियस्तरको सहकार्य, सहयोग तथा सञ्चारमा पनि यस्ता सम्मेलनहरुको महत्वपूर्ण भूमिका रहने छ ।”










प्रतिक्रिया दिनुहोस्