समाचार

एसएसपि लामालाई तीनवटा सामुदायीकको विदाई सम्मान



कार्यकाल सन्तोषजनक रह्यो’ : काठमाडौँ परिसर प्रमुख लामा

काठमाडौँ, २६ बैशाख । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपि) बसन्तकुमार लामाले आफ्नो आठ महिने कार्यकाल सन्तोषजनक रहेको उल्लेख गरेका छन ।

गत सोमबार परिसर प्रमुखबाट सरुवा भएर लागु औषध नियन्त्रण ब्युरोमा दोस्रो वरियताको अधिकृतको रुपमा जान लागेका एसएसपि लामालाई महानगरीय प्रहरी वृत्त लगायत काठमाडौं महानगरको १०, ३१ र ३२ वडाको सामुदायीक विकास केन्द्र र सामुदायीक प्रहरी सेवाले गरेको संयुक्त विदाई तथा सम्मान कार्यक्रममा एसएसपि लामाले सन्तुष्टि व्यक्त गरेका हुन ।

‘मैले मेरो कार्यकालमा थुप्रै सहयोगी मित्रहरु कमाएँ, जसले गर्दा नेपाल प्रहरी संगठनले अघि सारेको समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई स्थानीय निकायसम्म पुर्याउन सजिलो भयो र कार्यक्रमले छोटो समयमै गति लिन सफल भयो’-एसएसपि लामाले भने । संगठनले खटाए अनुसार संगठनको व्यवसायीक सिद्धान्त र अवधारणा अनुसार काम गर्दा सबै पक्षले गरेको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै एसएसपि लामाले अबका दिनमा लागुऔषध नियन्त्रण ब्युरोमा काम गर्दा पनि उत्तिकै सहयोग पाउने आशा व्यक्त गरे ।

नेपाल प्रहरी संगठनले गत कात्तिक ११ गतेदेखि शुरु गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई सक्रियताका साथ टोलटोलदेखि विद्यालय,कलेज, स्थानीय निकाय, पालिका तथा महानगरपालिकामा कार्यान्वयन गर्न सफल भएका एसएसपि लामाको सम्मानमा बुधबार काठमाडौं परिसरमै पुगेर सम्मान गरिएको थियो ।

परिसरको सामुदायीक विकास शाखाका प्रमुख, डिएसपि राजेन्द्रप्रसाद पोखरेलको उपस्थितिमा नयाँबानेश्वर वृत्तका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्ले, ‘सामुदायीक प्रहरी साझेदारी कार्यक्रम’को बारेमा लामो समयदेखि लेख्दै आएका अरनिको टेलिभिजनका सहसम्पादक बलराम प्यासी, सामुदायीक सेवा केन्द्र १०, ३१ र ३२ का पदाधिकारीहरु तथा ती तीनैवटा वडाका सामुदायीक प्रहरी सेवाका प्रमुखहरुले परिसर प्रमुख एसएसपि लामालाई उनकै कार्यकक्षमा पुगेर खादा लगाई उपहार दिएर सम्मान गरेका थिए ।

यसैगरि सामुदायीक सेवा केन्द्र वडा नं १० का महासचिव अशोक कार्की, सदस्य ज्ञानेन्द्र श्रेष्ठ तथा सामुदायीक प्रहरी सेवा केन्द्रका प्रमुख प्र.ह.ताराराम दयाल, केन्द्रको वडा नं ३१ का उपाध्यक्ष बसन्तकुमार श्रेष्ठ, महासचिव कुमार पोखरेल, सचिव अधिवक्ता गणेश केसी तथा वडा नं ३२ को सामुदायीक प्रहरी सेवा केन्द्रका प्रमुख प्रहरी सहायक निरीक्षक राजेन्द्रसिंह पुजारा लगायतले एसएसपि लामालाई खादा लगाएर सम्मान गर्दै उनको कार्यकालको प्रशंसा गरेका थिए ।

सोही कार्यक्रममा निलसरस्वती सामुदायीक सेवा केन्द्रका अध्यक्ष डा.गोपाल श्रेष्ठ र उपाध्यक्ष सुर्यलाल महर्जनले पनि एसएसपि लामालाई सम्मान गरेका थिए ।