राजनीति

मेयर श्रेष्ठ नयाँ पक्की पुल डोजर लगाई भत्काए : जनतामा आतंक



क्तपुर, २९ बैशाख । तिव्र विकास र समृद्धिको यात्रामा दैडिएको भक्तपुरमा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जनताको विकास प्रतिको सपनामा कालो बादल लगाउँदै निर्माण सम्पन्न हुनै लागेको पक्की पुल डोजर लगाई भत्काएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ बालकोट र मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ शंखधर चोक जोड्ने हनुमन्ते खोलाको नयाँ पुल नगर प्रमुख श्रेष्ठले शुक्रवार साँझ डोजरलगाई भत्काएका हुन् ।

दुई करोडको लागतमा साविक जिल्ला समन्वय समितिको ठेक्का भई पूर्वाधार कार्यालय धुलिखेल तथा स्थानीय सडक, पुल सहयोग इकाई, मानभवनको प्राविधिक सहयोगमा निर्मित हनुमन्ते नदीको पुल निर्माण कार्यको अन्तिम चरणमा पुर्याइएको थियो । पुलको करिव ९० प्रतिशत काम सम्पन्न भइसकेको थियो । बाँकी करिव १० प्रतिशत काम यहि आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ तिव्र गतिमा निर्माण कार्य भइरहेको थियो ।

हजारौं भक्तपुरवासीको विकासको भाग्य र भविष्यमाथि खेलवाड गर्दै मेयर श्रेष्ठले नेपाल सरकारको दुई करोड रकमलाई खोलामा बगाईमात्र दिएनन् कि भक्तपुरको विकासमा अध्यारो लगाउने समेत प्रयास गरेका छन् ।

मेयर श्रेष्ठले दुई लेनको उक्त पक्की पुल डोजर लगाउँदा नत ठकेदारलाई नै जानकारी दिए, नत निर्माण कम्पनीसँग नै छलफल गरे । आफ्नो बलजफ्तीमा पुलमा डोजर लगाउने कार्य गरे जसबाट पुल निर्माणलाई शुन्यतामा धकेले ।

भनिन्छ, जनप्रतिनिधिले कुनै पनि निर्णय लिनुभन्दा पहिले दश कदम अघि तथा पछिको बारेमा सोच्ने र सम्बन्धीत निकाय, व्यक्ति, संस्था लगायतसँग छलफल गर्नुपर्छ जसका कारण भविष्यमा कुनै पनि समस्या उत्पन्न नहोस् । यसमा प्रमुख श्रेष्ठले गरेको व्यवहारले जनप्रतिनिधिले पाएको संवैधानिक अधिकारले देखाएको दम्भ समेत प्रस्तुत भएको देखिन्छ ।

पुलको चौडाई ठूलो भएका कारण अन्य बाटोलाई असर परेको भन्दै मेयर श्रेष्ठले उक्त पुल डोजर लगाएको स्थानीयवासीले बताएका छन् । एक स्थानीयवासीले भने, ‘हनुमन्ते नदीको करिडोर नखोल्नलाई मेयर श्रेष्ठले प्रपञ्च रचिएको हो । उक्त करिडोर निर्माण रोकिए काठमाडौँ उपत्यकावासीले सवारी जामको समस्या दिर्घकालसम्म व्यहोर्नुपर्छ । यसको लागि सम्बन्धीत निकायले वेलैमा सजग हुन जरुरी रहेको छ ।’

हुनत, प्रमुख श्रेष्ठ यो घटनामा मात्र विवादको विषय बनेका छैनन् । केही समय अघि गैरकानुनी रुपमा बजेट उनको नजिकको मानिसलाई दिन नमान्दा आफ्नै प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा ताला लगाउन समेत भ्याएका थिए । त्यती मात्र होईन कि उनी हनुमन्ते नदीको जग्गाको केसमा समेत मुछिएको विभिन्न समाचार माध्यमहरुमा प्रकाशित भएका छन् ।

सरकारी लगानीमा भएको विकासलाई चुनौति भत्काउने मेयर श्रेष्ठलाई अब कानुनले के कारवाही गर्छ ? उक्त केसमा अबको राज्यले कस्तो बाटो अपनाउँछ ? पुलको क्षतीपूर्ती कसले व्यहोर्छ ? नगरपालिका वा मेयरको व्यक्तिगत सम्पतीबाट असुल उपर गर्ने ? जनताले तिरेको करबाट गरिएको विकासलाई खोलामा बगाउने जनप्रतिनिधिलाई जनताले मान्ने कि नमान्ने ? भन्ने प्रश्न आम जनसमुदायमा खड्केको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई कुनै पनि हालतमा खारेज गराउने उद्देश्य बोकी चरणवद्ध रुपमा आन्दोलन समेत गरिरहेका मेयर श्रेष्ठको यो व्यवहारले एकलैटी तानाशाही व्यवहार समेत देखिएको छ । आफ्नो सम्पत्ती भन्दा सजिलै रुपमा सरकारी सम्पत्तीलाई खोलामा बगाउने मेयरलाई आम नेपाली जनताले कस्तो व्यवहारले हेर्ने भन्ने कैतुहलता शुरु भएको छ ।