विराटनगर, ३० बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हजारौं नेपालीको साहदतबाट प्राप्त लोकतन्त्र सरकारलाई बाँदरको हातमा नरिवल जस्तै भएको बताउनुभएको छ ।
नेपाल महिला संघ मोरङले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले सरकार लोकतन्त्रमा विश्वास नराख्ने र लोकतन्त्र मास्न लागि परेको आरोप लगाउनुभयो । उहाँले गणतन्त्रलाई संस्थागत गर्ने भन्दा पनि मास्ने कार्यमा नेकपा नेतृत्वको सरकार लागेको बताउनुभयो ।
उहाले प्रेस अभिव्यक्ति स्वतन्त्रता विरुद्धका सबै विधेयकलाई गम्भीर ढंगले लिएको बताउनु भयो । नेपालको संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रता मात्रै नलेखिएर ‘पूर्ण प्रेस स्वतन्त्रता’ लेखिएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ ‘यसको सुस्पष्ट अर्थ हो नेपालको प्रेस जगतलाई नियमन गर्ने नाममा प्रेस स्वतन्त्रतालाई कुनै पनि ढंगले असर पु¥याउन पाइन्न । सरकारद्वारा २६ बैशाखमा संसदमा दर्ता गरिएको प्रस्तुत मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधानको प्रस्तावनाकै शव्द, भावना र मर्मंको प्रतिकुल छ ।’
नेपाली कांग्रेसको सरकारका पालामा प्रेस काउन्सिल ऐन ०४८ निर्माण भएको स्मरण गर्दै उहाले भन्नुभयो ‘जस्को प्रस्तावनामै काउन्सिललाई स्वायत्त र अर्धन्यायीक संस्थाका रुपमा उल्लेख गरी सोही अनुरुप यसको औचित्य स्थापित गरिएको थियो । तर संसदमा प्रस्तुत पछिल्लो विधेयकले प्रस्तावनाको त्यो परिच्छेद हटाएर स्वायत्तता र अर्धन्यायीक स्वरुपको सोझो समाप्ती सुनिश्चित गरेको छ ।’










प्रतिक्रिया दिनुहोस्