राजनीति

हनुमन्ते पुलको विवाद समाधान



भक्तपुर, ७ जेठ । केही समय अघिदेखी विवादमा रहेको हनुमन्ते नदीको पुलको विवाद समाधान भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा भएको अनुगमन तथा सरोकारवालासँगको छलफलले उक्त पुलमा रहेको विवाद समाधान गरेको हो ।

मध्यपुर नगरपालिका वडा नं ४ र सुर्यविनायक नगरपालिका वडा न. ३ जोडने थिमी हनुमन्ते खोलामा निर्माणाधीन पुलको एप्रोज ढलान गर्ने सिलसिलामा रहेको विवाद र समस्या समाधान भएको हो । यो समस्या समाधानसँगै पुलले पूर्णता पाउने निश्चित भएको छ । पुल बन्ने निश्चित भएसँगै मध्यपुर ४ हुँदै सूर्यविनायक नगरपालिका तर्फ जाने लाखौं जनताले यातायातको सेवा सहज रुपमा पाउने भएका छन् ।

बैशाख २७ गते मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्राविधिक कारण देखाई मध्यपुर नपा वडा नं. ४ तर्फको उक्त पुलको एप्रोज ढलानको अन्तिम तयारी रहेकोलाई डोजर लगाई भत्काएपछि निर्माण कार्य अन्योल बनेको थियो ।

सांसद बस्नेतको नेतृत्वमा प्रदेश नं. ३ का सांसद शसी जंग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, पूर्वाधार कार्यालय धुलिखेलका डिई लोकनाथ रेग्मी, सु.न.पा.३ का वडा अध्यक्ष शिवशरण खत्री, थिमी वृत्तका डि.एस.पी. मिलन केसी लगायतको टिमद्वारा पुलको बस्तुस्थिति र समस्याहरुका बारेमा स्थानीय जनतासँग उक्त स्थानमा नै प्रत्यक्ष छलफल गरी उक्त समस्याको समाधान गरी निर्वाद रुपमा निर्माण सम्पन्न गराउने सहमति भएको छ ।

दुई करोडको लागतमा साविक जिल्ला समन्वय समितिको ठेक्का भई पूर्वाधार कार्यालय धुलिखेल तथा स्थानीय सडक, पुल सहयोग इकाई, मानभवनको प्राविधिक सहयोगमा उक्त पुल निर्माण कार्यको अन्तिम चरणमा रहेको छ ।