Banner News

मिडिया काउन्सिल विधेयक परिमार्जनपछि मात्र पारित हुन्छ : नेता गौतम (विज्ञप्तीसहित)



काठमाडौँ, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले मिडिया काउन्सिल विधेयक परिमार्जनपछि मात्र पारित हुने बताएका छन ।

आज एक विज्ञप्ती जारी गर्दै सरकारले राष्ट्रिय सभा सचिवालयमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक सच्चाएर मात्र पारित गर्नुपर्ने बताएका हुन ।

विज्ञप्ति  

मिति :२०७६/०२/९

प्रेस विज्ञप्ति

नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भई राष्ट्रिय सभा सचिवालयमा दर्ता समेत गराइएको मिडिया काउन्सिल सम्बन्धि विधेयकका कतिपय विवादास्पद प्राबधानप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावना अनुरुप बनाउनु पर्ने आवश्यकता मैले देखेको छु । सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसंग म पूर्ण सहमत छु । तर समाचार लेखेकै आधारमा पत्रकारलाई दश– दश लाख रुपैयासम्म जरिवाना गर्ने जस्ता कठोर प्रावधान उचित लाग्दैन । यद्यपी पीतपत्रकारिताको सिकार म आफै भइ पनि रहेको छु ।

स्वतन्त्र प्रेस र व्यवसायिक पत्रकारिता लोकतन्त्रका खम्बा हुन । बोल्न नसक्नेहरुका प्रतिनिधि तथा समाजका पहरेदार र ऐना पनि स्वतन्त्र पत्रकारहरु हुन् । त्यसैले प्रेसलाई चौथो अंगको रुपमा स्वीकार गरिएको पनि हो । प्रेस, व्यवसायिक पत्रकार र सञ्चारकर्मीहरुलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्नुपर्दछ । तसर्थ हाल राष्ट्रिय सभा सचिवायलयमा रहेको उक्त विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासंग छलफल गरि टुंगो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउन म नेपाल सरकार, सम्बन्धित सरकारी निकाय लगायत सम्बन्धित सबैमा आग्रह गर्दछु । साथै कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई वेवास्ता गर्ने क्रियाकलाप संचार क्षेत्रमा प्रकट हुन नदिन सबै जिम्मेवार संचारकर्मी मित्रहरुलाई पनि हार्दिक अनुरोध गर्दछु ।

वामदेव गौतम
नेकपा सचिवालय सदस्य
काठमाडौँ, नेपाल ।