सम्पादकीय

निजामती कर्मचारीले राखे माग- ‘न्यूनतम तलब ३५ हजार बनाऊ’



निजामती कर्मचारीले बजेटमा आधारभूत तहको न्यूनतम तलब स्केल ३५ हजार रुपैयाँ हुनुपर्ने माग राखेका छन् । आगामी आर्थिक वर्ष २०७६-७७ को बजेटका लागि निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सरकारसमक्ष यो माग राखेको हो ।

नेपाल राष्ट्र बैंकको मूल्य सूचकांकको तुलनामा कर्मचारीको तलबमान न्यून रहेको र जीवन निर्वाहका लागि आवश्यक खाद्यवस्तु र सोबराबरको रकम विश्लेषण गर्दा न्यूनतम तलबमान ३५ हजार हुनुपर्ने माग कर्मचारीको छ। यस्तै कार्यालय सहयोगी र मुख्य सचिवको तलबमानको १ ५ को अनुपातमा हुनुपर्ने माग राखिएको छ । अहिले कार्यालय सहयोगीको तलब स्केल न्यूनतम १६ हजार २३० रुपैयाँ र मुख्य सचिवको ५५ हजार २०० रुपैयाँ छ ।

कर्मचारीको तलब भत्ता जीविकोपार्जनयोग्य नरहेको, तलब र भत्ताबाहेक अन्य लाभ नरहेको र सार्क राष्ट्रमै नेपालका निजामती कर्मचारीको तलब कम रहेका कारण जनाउँदै कर्मचारीले तलब वृद्धि हुनुपर्ने माग राखेका हुन् । चालू आर्थिक वर्षमा २६ प्रतिशतले राजस्व वृद्धि भएको र मूल्यवृद्धि पनि ४.६ प्रतिशत मात्र रहेकाले तलब बढाउन सकिने आधार देखिएको कर्मचारीको तर्क छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।