समाचार

आगलागीबाट लाखौँको क्षति



काठमाडौँ, १६ वैशाख । दैलेखमा आगलागीबाट एक घर र दुई वटा गोठ जलेर नष्ट हुँदा  लाखौँको क्षति भएको छ ।

दैलेख प्रहरीका अनुसार शनिवार अपराह्न चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, चाल्ने चौताराका गणेश सिजापतीको घरमा आगो लाग्दा घर पूर्ण रूपमा जलेर नष्ट भयो । घर नजिकैको धाम कपासे सामुदायिक वनमा लागेको आगो हावा हुरीका कारण एक्कासि घरमा पुगेको थियो।

दुई तले ६ वटा कोठा भएको, ढुङ्गा, माटो र पत्थरले छाएको उक्त घर जलेर पूर्ण नष्ट भएको छ । यद्यपि आगो लागेको समयमा घरमा कोही नभएकाले  मानवीय क्षति भएन । आगलागीबाट घरमा भएको सम्पूर्ण अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको प्रहरी जनाएको छ । उक्त स्थानमा लागेको आगो नियन्त्रणका लागि प्रहरी सहायक निरीक्षक कर्णबहादुर रोकायाको कमाण्डमा चार जनाको प्रहरी टोली खटिएको थियो ।

प्रहरीका अनुसार आगलागीबाट उक्त घरमा करिब ६ लाख बराबरको क्षति भएको छ ।