समाचार

भ्रष्टाचार अभियोगमा कर्नेल जेल चलान



काठमाडौँ, १२ जेठ । ४९ लाख २९ हजार भ्रष्टाचार अभियोगमा नेपाली सेनाका कर्नेल (प्रमुख सेनानी) केशवराज कार्की जागिरबाट बर्खास्तीमा परेर जेलसमेत चलान भएका छन् । उदयपुरस्थित कालिसिद्धि गणका गणपति कार्कीलाई सैनिक अदालतले भ्रष्टाचारी ठहर गरेपछि बर्खास्तीसँगै जेल चलान भएका हुन् । उनी कैद भुक्तानीका लागि शुक्रबार जगन्नाथ देवल जेल चलान भएका छन् ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत ताल संरक्षणमा भएको भ्रष्टाचारलगायत अन्य आर्थिक हिनामिनामा सैनिक अदालतले गरेको फैसला प्रधानसेनापति पूर्णचन्द्र थापाले ५ जेठमा सदर गरेका थिए । प्रधानसेनापतिको कार्यालयले सजायसम्बन्धी फैसला बिहीबार सुनाएको थियो । सेवाबाट बर्खास्त उनी २२ साउनसम्म जेल बस्नुपर्नेछ । प्रधानसेनापति थापाको कार्यकालमा यति ठूलो रकम भ्रष्टाचार भएको र आरोपीले जागिरबाट बर्खास्तीको सजाय पाएको यो पहिलो घटना हो । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।