काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको गलत रवैयाप्रति सजग रहन र निरन्तर खबरदारी गरिरहन सबैलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन क्रियाशील रहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीका बोली र काम गराई संविधानको मर्मविपरित रहेको भन्दै उहाँले त्यसबाट संवैधानिक संकट आउने सक्ने खतरा औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको छ । संविधान केही होइन, अब म जे बोल्छु त्यही नै सबैले मान्नुपर्छ भने जस्तोगरी प्रस्तुत हुनु अशोभनीय छ, दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले आफूलाई नसच्याए जनतासँगको भावनात्मक सम्बन्ध टुट्ने र अहंकार पनि अन्त हुने उनले चेतावनीसमेत दिनुभयो । जनअपेक्षा धेरै भए पनि वर्तमान सरकार भाषामा मात्र सीमित रहेको र कान्डै कान्डमा मुछिएको भन्दै उहाँले अहिलेको सरकारबाट कुनै आश गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्री र सचिवले ठेकेदार कम्पनीसँग पैसा मागेकाले ठेकदार कम्पनीले हात झिकेको कुरा आइरहेको छ । यो अत्यन्त दुःखद हो ।’
कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले पद ओगटेका व्यक्तिहरुले पार्टी र संगठनको काम झारा टारेजस्तो गरी गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘कांग्रेसको कार्यकर्ता हुँ भन्ने, तर अनुशासनमा नबस्ने, कुनै नेता विशेषको बनेर पार्टीभित्र असहयोग गर्नेहरुलाई ठेगान नलगाउँदासम्म कांग्रेस बलियो हुन सक्दैन ।’










प्रतिक्रिया दिनुहोस्