राजनीति

विप्लवको बन्द : बिहानैदेखि देशैभर बम आतंक (देशभर के के भयो ?)



काठमाडौँ, १३ जेठ । नेत्र विक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव अहिले मुलुकभर देखिएको छ । विप्लवको बन्दका कारण देशका धेरै ठाउँहरुमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका समाचार प्राप्त भएको छ ।

सोमबार बिहानै भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक शंकास्पद वस्तु फेला परेको थियो । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

मोरङको सुन्दरहरैंचा ७ ठडिया चोकमा पनि प्रेसर कुकर बम फेला परेको थियो । कुकरमा रातो कपडाले वेरिएको राखिएको अबस्थामामा फेला परेको हो । उक्त प्रेसर कुकर बमलाई सेनाको टोलीले निष्कृय पारेको छ । त्यस्तै मोरङकै बुढिगंगामा पनि शंकास्पद वस्तु भेटिएको छ । बुढिगंगा गाउँपालिका–१ आरती स्ट्रिप्स छेउमा रहेको उक्त बम जस्तो देखिने शकास्पद वस्तु फेला परेको छ ।

हेटौंडाको चौकीटोलमा ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजानी गरेको छ । त्यस्तै हेटौँडाकै बुद्धचोक नजिक प्रेसर कुकर बम फेला परेको थियो । बम डिस्पोज गरिएको छ ।

अर्घाखाँचीको सन्धीखर्कस्थि आवासीय माविमा शंकास्पद वस्तु फेला परेको छ । बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोक नजिकै शंकास्पद वस्तु फेला परेको थियो । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् । कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेको छ ।

मकवानपुरको थाहा नगरपालिकामा विप्लव नेतृत्वको नेकपाको क्रममा सोमबार बिहानै थाहा नगरपालिका-१ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ । त्यस्तै धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । उक्त विस्फोटक पदार्थलाई नेपाली सेनाको निस्क्रिय पारेको छ ।