Banner News

प्रधानमन्त्री ओली नरेन्द्र मोदीको शपथ समाराेहमा जाने



काठमाडौँ, १४ जेठ । दोस्रो पटक कार्यभार सम्हाल्न लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण कार्यक्रममा आफ्ना छिमेकी मुलुकका समकक्षीहरूलाई निम्त्याउने भएका छन् । उनले यस क्षेत्रका क्षेत्रीय संगठन सार्क र बिम्स्टेक दुवैका राष्ट्र एवं सरकार प्रमुखलाई निम्त्याउने निर्णय गरेका हुन् ।

उनले २०१४ मा पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा सार्कका राष्ट्र एवं सरकार प्रमुखलाई निम्त्याएर छिमेकलाई प्राथमिकता दिएको संकेत गरेका थिए । तर, मोदीको पहिलो कार्यकाल छिमेकहरूसँग राम्रो सहकार्यबिनै सकिएको छ । निर्वाचनको मुखमा आएर उनले छिमेकसँग केही नरम नीति लिएर सम्बन्ध सुधारको संकेत गरेका थिए ।

मोदीले यसपटक सार्कका नेपाल, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सका साथै बिमस्टेकमा रहेका थाइल्याण्ड र म्यानमारका राष्ट्र एवं सरकार प्रमुखलाई समेत निम्तो दिनेछन् । यसको औपचारिक घोषणा गर्ने तयारी रहेको कूटनीतिक स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओली मोदीको शपथग्रहण कार्यक्रममा जाने तयारी गरिसकेका छन् । उनले सोमबार जानकारी पाए लगत्तै आउने जानकारी गराइसकेको अधिकारीहरूले बताएका छन् । याे खबर अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।