राजनीति

जनताको रगत, आँशु र पसिनाबाट आएको गणतन्त्र कसैले दिएको उपहार होइन : मन्त्री बाँस्कोटा



काठमाडौँ, १४ जेठ । सूचना तथा सञ्चार प्रविधीमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपालमा ७० वर्षसम्मको लामो संघर्षबाट आएको लोत्रान्त्रीक गणतन्त्र जनताको रगत, आँशु र पसिना साटिएर आएको गणतन्त्र कसैले दिएको उपहार नभएको बताउनुभएको छ ।

१२ औं गणतन्त्र दिवसको अघिल्लो दिन आज रेडियो नेपाल र नेपाल टेलिभिजनद्वारा सिंहदरवारमा आयोजित विशेष जागरण गीत सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले गणतन्त्र सत्तरी वर्षसम्म जनताले गरेको सङ्घर्षको प्रतिफल भएको बताउुनभयो । उहाँले भन्नुभयो, ‘अब मुलुकलाई अन्तरराष्ट्रिय मानकसँग गाँस्न आवश्यक छ । अब कोही पनि जनता भोकै बस्नु पर्दैन । कृषिमा क्रान्ति गरेर समृद्धिमा लाग्नुपर्छ ।’

मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब हाम्रा बस्तीमा बारुदको गन्ध जरुरी छैन, गणतन्त्रमा जनता नै मालिक हुने भएकाले जनताका अगाडि बन्दूक केही होइन ।’

उहाँले अबको लडाइँ गरीबी समाप्त गर्ने, कृषि र शिक्षामा फड्को मार्ने र प्राप्त अधिकारलाई सुदृढ तुल्याउने हुनुपर्ने बताउँदै भन्नुभयो, ‘आर्थिक परिवर्तन जति सजिलो छ, सामाजिक र सांस्कृतिक परिवर्तन गर्न उत्तिकै कठिन रहेकोले अब हाम्रो ध्यान त्यता जानुपर्छ ।’