समाचार

८३ हजार युवालाई सीपमूलक तालिम, ‘युवा परिचालन वर्ष’ मनाइने



काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा ८३ हजार युवालाई सीपमूलक तालिम सञ्चालन गर्ने साथै युवा परिचालन वर्ष मनाउने भएको छ ।

शिक्षा शीर्षक अन्तरगत ८३ हजार युवालाई सीपमूलक तालिम प्रदान गर्ने बजेट वक्तव्यमा उल्लेख छ । सरकारले यसका लागि प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद र व्यवसायिक शिक्षा तथा तालीम अभिवृद्धि योजनामार्फत आगामी आर्थिक वर्षमा ८३ हजार युवालाई विभिन्न सीपमूलक तालीम प्रदान गर्न रु। १ अर्ब ७२ करोड विनियोजन गरेको हो ।

तर युवा शीर्षक अन्तरगत भने युवाहरुलाई परिचालनमा जोड दिइएको छ । युवाको जाँगर, समृद्धिको आधारलाई सार्थक तुल्याउन आगामी आर्थिक वर्ष युवा परिचालन वर्षको रुपमा मनाइने बजेट वक्तव्यमा उल्लेख छ ।

युवा स्वरोजगार कोष र राष्ट्रिय युवा परिषदको संस्थागत संरचना परिवर्तन गरी रोजगारी सिर्जना प्रभावकारी बनाइने तथा युवाहरूको प्रतिभा पहिचान, परिचालन र प्रवर्द्धनका लागि नियमित रूपमा सिर्जनात्मक गतिविधि सञ्चालन गरिने समेत बजेट वक्तव्यमा भनिएको छ । युवाहरूले व्यवसायिक नेतृत्व लिने गरी क्षमता अभिवृद्धि र सूचनामा पहुँच अभिवृद्ध गरिनुका साथै आगामी वर्ष ‘युवा वैज्ञानिक सम्मेलन’ समेत आयोजना गरिने उल्लेख छ ।

यसै अभियान मार्फत लैङ्गिक, जातीय र छुवाछुत लगायत सामाजिक विभेदको अन्त्य गर्न जनचेतना जगाउने जस्ता कार्य गरिने तथा संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा शैक्षिक संस्था, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद र विभिन्न गैरसरकारी संस्थाहरुबाट युवा परिचालन मार्फत मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षारोपण जस्ता कार्य गरिने समेत उल्लेख छ ।

सामूहिक, सहकारी, कबुलियती र करार खेतीमा युवाहरूलाई प्रोत्साहित गर्न रु ५० करोड अनुदानको व्यवस्था गरिएको छ भने युवा तथा खेलकुद क्षेत्रमा रु ३ अर्ब ९९ करोड विनियोजन गरिएकाे छ ।