राजनीति

मिडिया भएन भने राजनीतिक दल र सरकार पनि छाडा हुन्छ : नेता भट्टराई



बाँके, १७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक तुल्याउन मिडियाको महत्वपूर्ण भूमिका रहने भन्दै मिडिया नभए राजनीतिक दल तथा सरकार पनि छाडा हुने बताउनुभएको छ ।

नेपालगञ्जबाट प्रकाशित हुँदै आएको लोकप्रिय सन्देश दैनिकको छैठौँ वार्षिक उत्सवलाई बिहीबार सम्बोधन गर्दै नेता भट्टराईले प्रेस जगत स्व-नियममा बस्नु पर्ने भन्दै गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने विषय मिडिया काउन्सिल विधेयकमा भएमा सदनले सच्चाउने बताउँदै उहाँले स्वस्थ, मर्यादित पत्रकारिता आवश्यक भएको भन्दै उहाँले नियन्त्रण गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्व-नियममा बस्नुहोस, आचार संहिता आफैँ बनाउनुस्, मिडिया भएन भने राजनीतिक दल र सरकार पनि छाडा हुन्छ ।’

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६-७७ को वार्षिक बजेट छरपष्ट नभइ लोकल्याणकारी राज्यको अवधारण अनुसार रहेको बताउनुभयो । नेता भट्टराईले भन्नुभयो, ‘गएको वर्ष धेरै विषय चाहँदा चाहँदै पनि समेट्न सकिएको थिएन, यस वर्ष बजेटले आशा देखाएको छ ।’ समाजवादका लागि सुशासन महत्वपूर्ण भएको भन्दै नेता भट्टराईले श्रमशक्तिलाई विदेश पलायन रोक्न खोजिएको दावी गर्नुभयो ।