काठमाडौँ, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलगायतका कम्युनिष्ट समूहहरुलाई एउटै कम्युनिष्ट पार्टी बनाउने आफ्नो अभियानमा सहभागि हुन आग्रह गरेका छन् ।
आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा विप्लवका पोलिटब्यूरो सदस्य पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘यो पछिल्लो कडि हो यो रोकिनेवाला छैन । एकदिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ र अरु कम्युनिष्ट समूहहरु पनि यो पार्टीमा जोडिनुपर्छ ।’
अध्यक्ष दाहालले मुलुकमा समाजवादको आधार तयार पार्नेगरी सरकारले बजेट र नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसैमा समाहित भएर मात्रै पिछडिएका जनतालाई समृद्ध बनाउन सकिने पनि उल्लेख गरेका छन । उनले राईलाई पार्टीमा प्रवेश गराउँदा आफूलाई घर छाडेर हिँडेको छोरो फेरि घर फर्किएको अनुभूति भएको बताए ।
विप्लवले लिएको बाटो गन्तव्यमा पुग्ने बाटो नभएको बताउँदैै उनले भने, ‘अहिले जो बाटो हिँडिएको छ त्यो गन्तव्यमा पुग्ने बाटो होइन । त्यसले राष्ट्र र जनतालाई क्षति मात्रै हुन्छ ।’
अध्यक्ष प्रचण्डले आग्रह गर्दै भने, ‘ज–जसले कम्युनिष्ट समूह चलाइरहनुभएको छ । आउनुस छलफल गरौँ । सम्वाद गरौँ, इतिहासको वर्तमानको, राष्ट्रिय अन्तर्रािष्ट्रय परिस्थिति पनि समिक्षा गरौँ ।’










प्रतिक्रिया दिनुहोस्