राजनीति

नेकपा सचिवालयको बैठक विना निष्कर्श टुंगियो



काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठक विना निष्कर्श टुंगिएको छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजनको छलफल प्रारम्भ गरेको बैठक सहमति जुट्न नसकेपछि विना निष्कर्श टुंगिएको हो । बैठक सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बुधबार विहान १२ बजे पुनः बस्ने बताउनुभयो ।

आजको बैठकमा पहिलो चरणमा जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाई बाँकी केन्द्रीय सदस्यको कार्यबिभाजन टुंग्याउने प्रस्ताव गरिएको एक नेताले बताए । ‘अध्यक्षद्वयले तयार पार्नुभएको ७७ ओटै जिल्ला इञ्चार्ज र सहइञ्चार्जको नामावली प्रस्तुत भयो, सवै नेतालाई प्रस्ताव दिइएको छ,’ बैठकपछि सचिवालयका एक नेताले भने । ती नेताका अनुसार अध्ययनपछि भोलि बस्ने सचिवालय बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाउने छ ।