काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् चाड इद उलफित्रले विविध धर्म र संस्कृति अङ्गाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भनी शुभकामना ब्यक्त गरेका छन ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा पवित्र महीना रमदानको बिदाइसँगै शान्ति र भाइचाराको सन्देश प्रवाह गर्दै यस पर्वका अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीलाई ‘इद मुवारक’ भन्दै शुभकामना दिएका छन् ।
उक्त जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ, इस्लामिक क्यालेण्डरअनुसार रमदानको एक महीनाभरि भोक र तिर्खा बिर्सेर इन्द्रीयहरूलाई क्रोध र स्वार्थजस्ता अवगुणबाट टाढा राखी मानव जातिका लागि आदर्श जीवनयापनको अभ्यास गर्ने अवधिका रुपमा ग्रहण गरिने उल्लेख छ ।
नेपालको संविधानको प्रस्तावनामै देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षोल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित भएको बताएका छन् ।
सन्देशमा देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्थाअनुरुप मुस्लिम आयोग पनि क्रियाशील रहेको भनिएको छ ।










प्रतिक्रिया दिनुहोस्