राजनीति

कांग्रेस शीर्ष नेताकै उजुरी धेरै



काठमाडौं, २४ जेठ । कांग्रेसको अनुशासन समितिमा सबैभन्दा बढी र पेचिला उजुरी पार्टीका शीर्ष नेता र उनीहरूको क्षेत्रबाट परेपछि समितिलाई अप्ठ्यारो परेको छ ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारीकै जिल्लाबाट आएका उजुरी पेचिला देखिएको समितिका एक सदस्यले बताएका छन् ।

सभापति देउवाको डडेलधुराबाट जिल्ला सभापति कर्ण मल्लमाथि नै निर्वाचनमा देउवालाई नसघाएको भन्दै कारबाही माग गरिएको उजुरी परेको छ । देउवापत्नी आरजु राणा निर्वाचन लडेको कैलालीबाट पनि त्यस्तै उजुरी समितिमा आएका छन् ।

वरिष्ठ नेता पौडेललाई निर्वाचनमा सहयोग नगरेको भन्दै तनहुँबाट ६० जनालाई कारबाहीको सिफारिस समितिमा आइपुगेको नेताहरूले बताएका छन् ।

यसका साथै कोषाध्यक्ष सीतादेवी यादवको गृहजिल्ला सिरहाबाट धेरै उजुरी परेको समितिले जनाएको छ । समितिका अनुसार अर्जुनरसिंह केसी, डा.रामशरण महतसहित सहमहामन्त्री डा. प्रकाशशरण महतको गृहजिल्ला नुवाकोटबाट पनि धेरै उजुरी आएका छन् ।

चैत पहिलो साता कांग्रेस केन्द्रीय समितिले भीष्मराज आङदेम्बेको नेतृत्वमा अनुशासन समिति गठन गरेको थियो । समितिले काम थालेको छ। चैत मसान्तभित्र ७७ जिल्लालाई उजुरी पठाउन निर्देशन गरेको थियो ।

निर्वाचनलगत्तै रमेश रिजाल नेतृत्वको तत्कालीन समितिले ६ सयजति उजुरी संकलन गरेको थियो । तत्कालीन समितिले पहिलो चरणमा ३ सयजतिलाई स्पष्टीकरणसमेत सोधेको थियो । तर, शीर्ष नेताहरूको दबाब बढेपछि एक वर्षअघि रिजालले राजीनामा दिएका थिए ।

यतिबेला उजुरी अध्ययन भइरहेको समितिले जनाएको छ । समिति संयोजक आङदेम्बेले जागरण अभियानको पहिलो चरण सकिएलगत्तै समितिको बैठक गर्ने तयारी भइरहेको बताए। ‘आएका उजुरी र पहिले सोधिएका केही स्पष्टीकरणसमेत हामीसँग छ’, उनले भने, ‘यसबारे हामी समितिका सबै सदस्यले अध्ययन गरिरहेका छौं ।’

१२ सयजति उजुरी संकलन भएको समिति सदस्य उमाकान्त चौधरीले बताए । समितिका सदस्यले शीर्ष नेताहरूका जिल्लाबाट आएका उजुरीबारे बोल्न मानेनन् । चौधरीले निर्वाचनलगायत पार्टीको अन्य सन्दर्भमा अनुशासनसम्बन्धी उजुरी डडेलधुरा, कैलाली, तनहुँ, नुवाकोट, सिरहालगायत जिल्लाबाट धेरै संख्यामा आएको स्विकारे ।

त्यसैगरी मोरङ, सुनसरीलगायत जिल्लाबाट समेत उजुरी आएको उनले बताए। मोरङबाट डा.शेखर कोइराला, मीनेन्द्र रिजाललगायत चुनावमा उम्मेदवार थिए । सुनसरी उपसभापति विजय गच्छदारको गृहजिल्ला हो ।

अर्का उपसभापति विमलेन्द्र निधिको गृहजिल्ला धनुषा र उनको निर्वाचन क्षेत्रबाट समेत समितिमा उजुरी परेका छन् । समिति संयोजक आङदेम्बेले उजुरीको विस्तृत अध्ययनपछि मात्र कारबाहीको सिफारिस गर्ने बताए । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।