काठमाडौँ, २६ जेठ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर अन्तर्गत कोटेश्वर प्रभाग मातहत रहेको कोटेश्वरको फुलबारी मार्ग, झोलुंगेपुलमा अवस्थित ‘झोलुंगेपुल प्रहरी बीट’ को पुनःनिर्माण सम्पन्न भई शनिबार उद्घाटन गरिएको छ ।
२०७२ बैशाख १२ को भूकम्पमा परि आंशिक क्षति भएको सो प्रहरी बीट काठमाडौँ महानगरपालिका ३२ नं वडाको आर्थिक सहयोगमा पुनःनिर्माण गरिएको हो । बीटमा एउटा ब्यारेक, एउटा मेस (भान्छा) र एउटा कार्यालय कोठा रहेको छ भने हाल प्रहरी हवल्दार प्रकाश राईको नेतृत्वमा ४ प्रहरी कार्यरत छन् ।

पुनःनिर्माण गरिएको बीटको काठमाडौं महानगर वडा नं ३२ की सदस्य हिरादेवी पोखरेल तथा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपि) उत्तमराज सुवेदीले उद्घाटन तथा निरीक्षण गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै परिसर प्रमुख एसएसपि सुवेदीले ‘कोटेश्वर, नरेफाँट र जडिबुटीको तुलनामा फुलबारीमार्गमा अपराधका घटना कम हुने गरेकोे उल्लेख गर्दै त्यसको मुख्य कारण त्यहाँका बासिन्दाको एकता, मित्रता र भाईचाराको कारण हो’ भने ।

पुनःनिर्मित प्रहरी बीटमा भूकम्पअघि प्रहरी दरवन्दी धेरै रहेतापनि पछिल्लो समयमा सीमित प्रहरी मात्रै कार्यरत रहेकोले सो ठाउँमा प्रहरीको दरवन्दी सृजना गरि थप प्रहरी खटाउने आश्वासन पनि एसएसपि सुवेदीले दिए ।
‘नेपाल प्रहरीमा हाल करीव १३ हजार दरवन्दी खाली छ, भर्ना प्रकृया, तालीम, नियुक्ति सहित एकजना प्रहरीलाई काममा खटाउन कम्तीमा पनि दुईवर्ष लाग्ने कारणले अहिले धेरै प्रहरी कार्यालयहरुमा दरवन्दी अनुसारको पदपुर्ति हुन सकेको छैन’—एसएसपि सुवेदीले भने । त्यस अवसरमा एसएसपि सुवेदीले बीट परिसरमा एसटा रुदाक्षको विरुवा पनि रोपेका थिए ।
कार्यक्रममा वडासदस्य हिरादेवी पोखरेलले हाललाई प्रहरी बीट भवनमा प्रहरी बस्न र सुत्न योग्य मात्रै बनाइएको र भविष्यमा वडाकै बजेटले पक्की भवन बनाई खरिबोट नजिक रहेको अर्काे अस्थायी प्रहरी बीटलाई पनि झोलुंगेपुल बीटमै गाभ्ने योजना रहेको बताइन ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपि गोविन्दराज काफ्लेले अहोरात्र खटिने प्रहरीलाई वर्षातमा पानी चुहिने कारण रातभर सुत्न समस्या भएकोले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वृत्तको पहल र वडाको आर्थिक सहयोगमा प्रहरी बीटको पुननिर्माण गरिएको बताए ।
झोलुंगेपुल टोल सुधार समितिका उपाध्यक्ष एवम् प्रहरी बीट पुनःनिर्माण समितिका संयोजक मुरारी कोइरालाले पुनःनिर्माणको प्रतिवेदन प्रस्तुत गरेका थिए भने काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख (डिएसपि) धनपति सापकोटाले पनि बोलेका थिए ।
कार्यक्रममा काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवाल, वरिष्ठ प्रहरी उपरिक्षक भीम ढकाल, झोलुंगेपुल टोल सुधार समितिका अध्यक्ष शीव भट्टराईलगायत विभिन्न सरकारी अधिकारीहरुको सहभागिता थियो ।











प्रतिक्रिया दिनुहोस्