बाँके, २७ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार अभिभावक भएको बताउदै सन्ततिको संरक्षणका लागि मिडिया काउन्सिल विधेयक ल्याएको साथै विधेयक गला रेट्न ल्याइएको नभई सन्ततिको संरक्षणका लागि ल्याएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारले संसद्मा प्रस्तुत गरेको विधेयकमा छलफल गर्न सकिने तर फिर्ता नहुने बताउनुभयो । काउन्सिल विधेयक श्रमजीवी पत्रकारको हित तथा लेखेर खानेका पक्षमा रहेको बताउँदै सडकमा उफ्रेर र आन्दोलन गरेर समस्या समाधान नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “विधेयक श्रमजीवी पत्रकारको हितमा छ, लेखेर खानेका पक्षमा छ । लेखेकै आधारमा कोही कारवाहीमा पर्दैन । गलत गर्नेलाई विधेयकले नियमन गर्ने हो, सही सूचना दिँदा कारवाही हुन्छ कि भनेर डराउनु पर्दैन ।”
मन्त्री बाँस्कोटाले भन्नुभयो, “मिडिया विधेयकले नियन्त्रण गर्न आँट्यो भनेर झण्डा उठाउनु ठीक हो, यहाँ त नियमन गर्न पाइँदैन भनेर झण्डा उठाइँदैछ, मिडिया नियमन गर्न पाइँदैन भन्नु पत्रकारिता कानूनभन्दा माथि छ भन्न खोजिएको छ । विधेयकमाथि संसद् र सदनमा छलफल भइरहेको छ । यसमा आन्दोलन गर्नुपर्ने कुनै कारण नै छैन ।”
विधेयकमा भएका दण्ड जरिवानाका विषयमा छलफल गर्न सकिने उहाँको भनाइ थियो । “सरकार अभिभावक हो, अभिभावकले सन्तानको घाँटी रेट्न सक्दैन । यो विधेयक गला रेट्न ल्याइएको होइन । सन्ततिको संरक्षणका लागि विधेयक ल्याएको हो”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।
उहाँले देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि केही गैरसरकारी संस्थाको रोजीरोटी गुमेपछि पत्रकारिता क्षेत्रमाथि खेल्ने फाइदा लिने प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कसैको खेती सकिन थालेपछि अब पत्रकारिता खतरामा प¥यो भनेर खेती शुरु गरेका छन् । यसमा सरकार झुक्नेवाला छैन, सञ्चारगृह ‘फेक कि फ्याक्ट’ बन्ने ? विधेयकले अब स्पष्टरुपमा निर्धारण गर्नेछ । यसमा गलत गर्ने पाखा लाग्नेछन् । पत्रकारिताको गरिमा जोगाउनकै लागि हामीले यो विधेयक ल्याएका हौँ ।”
मन्त्री बाँस्कोटाले समानुपातिक विज्ञापन वितरण गर्नका लागि विज्ञापन प्राधिकारण गठन गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञापन अधिकार हो भनेर विधेयकमा आएको छ । विज्ञापनमा सबैको पहुँच स्थापित गर्न खोजिँदैछ । यहाँ सरकार तानाशाही र मिडियामैत्री भएन भनेर प्रचारबाजी गरिएको छ । विज्ञापनमा एकाधिकार तोड्दैछौँ । अनि सरकार कसरी तानाशाही भयो ?”
सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने मन्त्री बाँस्कोटाको भनाइ थियो । “पत्रकारिताले राष्ट्रिय एकतालाई मजबुत बनाउने हो,” उहाँले भन्नुभयो, “यहाँका केही सञ्चारमाध्यममा विदेशी लगानी भित्रिरहेको छ । अनि हाम्रो राष्ट्रियता कति सुरक्षित र मजबुत छ भनेर हामीले पत्याउने ? विदेशीले लगानीअनुसारका सूचना खोजिरहेको हुन्छ, यसले हाम्रो राष्ट्रियतामाथि खतरा हुने भएकै कारण सञ्चारमाध्यममा विदेशी लगानी प्रतिबन्ध लगाउँछौँ ।”










प्रतिक्रिया दिनुहोस्