भक्तपुर, २८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास अघि बढिसकेकोले पछाडी फर्कने समय नभएको बताउँदै विकास विरोधी तत्वहरु तत्काल जनताको शरणमा आउने दिन आएको बताउनुभएको छ ।
संघिय सरकारबाट विनियोजित रु ६ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं. १० चितापोलको नाला, सल्लाघारी, भङ्गाल, वडा कार्यालय हुँदै अरनिको राजमार्ग जोडने सडक विस्तार र कालोपत्र गर्न शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले आगामी चार वर्षमा भक्तपुर देशकै विकसित जिल्ला मात्र नभई सवैको खोजी र प्रेरणादायी जिल्लाको रुपमा विकास गराउने समेत बताउनुभयो ।
भक्तपुर विकासको हिसावले देशकै उत्कृष्ट र नेतृत्वदायी भएको बताउँदै सांसद बस्नेतले भक्तपुरको विकासको लागि जनतालाई भन्दा पनि बढी जनप्रतिनिधिलाई चासो भएको बताउनुभयो । उहाँले निर्वाचनको समयमा गरेको प्रतिवद्धताहरु शतप्रतिशत पुरा गर्दै गएको बताउँदै विकासमा पहलकदमी र स्रोत साधनको परिचालनलाई विशेष महत्वका साथ ध्यान दिने नेतृत्वको आवश्यक रहेको बताउनुभयो ।
भक्तपुरमा सडकको लागि मात्र करिब ५६ करोड रुपैंया ल्याउन सफल भएको जानकारी गराउँदै सांसद बस्नेतले एक वर्ष अघि विदेश गएर अहिले आएका छन् भने हाम्रो गाउँ यही होर भन्ने अवस्थाको सिर्जना भएको बताउनुभयो । उहाँले विकासको सन्दर्भमा तीन वटै सरकारको नेतृत्वदायी भूमीका निर्वाह गर्नु नै भक्तपुरको समृद्धिको चाहना पुरा हुँदै गएको बताउनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रमले वेरोजगार युवाहरुलाई रोजगारीको वातावरण सिर्जना भएको बताउँदै फरक विचार राख्ने केही तत्वले अनावश्यक तथा हावादारी समाचार संम्प्रेषण गरि जनतालाई भ्रम फैलाउने घृणीत प्रयास गरेको तर जनता स्पष्ट रुपमा जानकार रहेको बताउनुभयो ।
अनावश्यक हल्ला फैलाउने दरिद्रहरुलाई जवाफ दिनु आवश्यक नरहेको बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुको विकास र समृद्धिको बारे गलत समाचार सम्प्रेषण गर्ने आफै लज्जीत भई आफ्नो मुहार अर्को पट्टी फर्काएर हिड्ने समय दिन प्रतिदिन आउँछ । दिन प्रतिदिनको विकास हेर्न निरन्तर रुपमा भक्तपुर आए हुन्छ । प्रेम सुवालले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रचार प्रसारमा मेरो फोटो नराख्नु, राखेमा साइवर क्राइमको मुद्धा लगाइदिन्छु भनेको र सोही अनुसार उहाँको तस्वीर हटाइएको हो । सोही कुरालाई केही उनी निकट अनलाईनले प्रेम सुवालको फोटो महेश बस्नेतले हटाई कु गरेको भनि अनावश्यक टिप्पणी गरे । कागले कान लग्यो भन्दैमा आफ्नो कान नै नछामी कागको पछि दगुर्नु कस्तो पत्रकारित हो ? समाचारमा सत्य तथ्य आवश्यक हुँदैन ?’
भक्तपुरका जनताले जसले काम गर्छ त्यसको हाइलाईट गर्ने र जसले राम्रो काम गर्दैनन् त्यसलाई छोप्ने काम गर्ने बताउँदै भन्नुभयो, ‘नेमकिपालाई यो पटकको चुनावमा क्षेत्र नं. २ मा छोपेको र आगामी चुनावमा क्षेत्र नं. १ मा समेत जनताले छोप्ने छन् ।’
व्यक्ति हाइलाईट हैन, जनताकोबीचमा हाइलाईट हुने प्रकारको काम गर्नुपर्ने बताउँदै सांसद बस्नेतले विकासबाट आत्तीएर सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्नेको पछि लाग्नु जरुरी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री रोजगारबाट भक्तपुरको प्रतिपक्षी आत्तीएको आगामी दिनमा राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न भएपश्चात भक्तपुरको विकास देखेर हाम्रो÷जनताको शरणमा आउने दिन आउँछ ।’
सांसद बस्नेतको विशेष पहलमा भक्तपुरमा संघिय सरकाबाट रु पाँच करोड भन्दा बढी लागतमा निर्माण शुरु भएका १० सडकहरु रहेको छन् । जसमा चितापोलको नाला, सल्लाघारी, भङ्गाल, वडा कार्यालय हुदै अरनिको राजमार्ग जोडने सडक, ध्याम्पेडाँडा हुँदै रानीकोट जाने सडक, चारदोवाटो देखी बालकोट जोने सडक, बालकोट हुँदै सिरुटार – विरुवा सडक, खहरेबाट गुण्डु बसर्पाक सडक, गुण्डुको तिनधारे हुँदै वडा कार्यालय जाने सडक, लोगो गार्मेनहुँदै कृषि तालिम केन्द्र जाने सडक, दधिकोट तर्खागाल जाने सडक, ज्योती लिङ्गेश्वर हुँदै झौखेल जाने सडकलगायतका रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्