राजनीति

नीति तथा कार्यक्रम गतवर्षको फोटोकपी नभई कार्यान्वनको मार्गचित्र : मुख्यमन्त्री राई



विराटनगर, २८ जेठ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले सरकारले ल्याएको नीति तथा कार्यक्रम गएको वर्षको फोटोकपी नभई कार्यान्वयनको मार्गचित्र भएको बताउनुभएको छ ।

प्रदेश नं. १ सरकारकातर्फबाट सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यन्वायन गर्नको लागि मार्गचित्र स्पष्ट भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिपक्षीको भुमिकाका कारण केही नकारात्मक टिप्पणी आउनु स्वाभाविक ठानेको छु, आएका सुझावलाई साकारात्मक रुपमा लिएर कार्यान्वयनमा लैजान्छौँ ।’

मुख्यमन्त्री राइले प्रदेश सरकार प्रदेशको कृषि, औद्योगिक र पर्यटकीय क्षेत्रको विकासका लागि संवेदनशील भएर लागि परेको बताउनुभयो । पहिले आफ्नै संरचना अभाव र थुप्रै अन्य कारणले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न निकै कठिनाइ भएको पनि उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम माथि ९३ जना सांसद मध्ये २३ जनाले मात्र छलफलमा भाग लिएर सुझाव दिएकोमा अन्य ६९ जनाले नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा स्वीकार गरेको दाबी गर्नुभयो ।