समाचार

उत्कृष्ट प्रहरी निरीक्षक लामा सम्मानित



काठमाडौँ, ३१ जेठ । नेपाल प्रहरी संगठनबाट गतवर्षको जेठमा नगद पुरस्कार सहित ‘उत्कृष्ट प्रहरी निरीक्षक’को रुपमा पुरस्कृत प्रहरी निरीक्षक राजु लामालाई चौधरी समूहद्वारा सञ्चालित क्याम्पियन काठमाडौं स्कुल गहनापोखरीले बिहीबार सम्मान गरेको छ ।

सो विद्यालयका प्राचार्य खेमराज देवानले विद्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी निरीक्षक लामालाई खादा लगाई मायाको चिनो दिएर सम्मान गरेका हुन । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका पुर्व इन्चार्ज निरीक्षक लामा महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरमा कार्यरत छन् ।

निरीक्षक लामालाई केही महिनाअघि सुविधानगरस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलको अभिभावक दिवसका अवसरमा भव्यरुपमा सम्मान गरेको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र, हाँडीगाउँको सहयोगमा समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सो विद्यालयका ६ देखि १० कक्षासम्मका विद्यार्थीहरूलाई सहभागी गराई ‘साइबर अपराध र यस सम्बन्धि कानुनी व्यवस्था’ विषयमा बिहीबार अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक लामाले कार्यक्रमको उद्धेश्यबारे प्रकाश पार्दै साइबर अपराधको विविध पक्षबारे विद्यार्थीलाई बताएका थिए । वालवालिका, किशोर किशोरी र युवा युवतीमा सामाजिक सञ्जालले पार्ने असरबारे प्रकाश पार्दै प्रहरी निरीक्षक लामाले विद्यार्थीलाई साइबर बुलिङ, सेक्सटिङ लगायतको प्रभावको बारेमा सचेत रहन आग्रह गरेका थिए । पछिल्लो समयमा धेरै विद्यार्थीहरु साइबर अपराधका कारण नपत्याउने तरीकाबाट दलदलमा फसिरहेको पनि निरीक्षक लामाले बताए ।

विद्यालयका खेलकुद विभाग प्रमुख सुवास खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य खेमराज देवानले धन्यबाद व्यक्त गरेका थिए ।