एजेन्सी, ४ असार । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
जापानी अधिकारीहरुका अनुसार भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जनाएको छ ।
जापानको राजधानी टोकियोबाट ३०० किलोमिटर उत्तरी निगातामा भूकम्पको केन्द्र रहेपनि भूकम्पको धक्का राजधानीमा पनि अनुभव गरिएको थियो ।
प्रधानमन्त्री शिन्जो आबेले भूकम्पबाट पीडितको उद्धार र राहतका लागि सरकार पूर्ण सतर्क अवस्थामा रहेको बताउँदै ठूलै क्षमताको परकम्प आउने सम्भावनातर्फ विशेष चनाखो रहन नागरिकहरु समक्ष आह्वान गरेका छन् ।
टेलिभिजन र अनलाइनहरुमा निगाता समेतका स्थानमा घरहरु बेस्सरी हल्लिएका र घरभित्रका सामान छताछुल्ल भएका दृश्यहरु राखिएका छन् । भूकम्प गएको केही समय विद्युत आपूर्ति समेत बन्द गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्