ललितपुर, ११ असार । बलराम प्यासी । आफन्त र नातेदारबाटै कलिला चेलीहरु वलात्कृत भइरहेको तथ्यांक नेपाल प्रहरीले सार्वजनिक गर्दै आएको अवस्थामा सोमबार फेरी एउटा यस्तै वलात्कारको घटना सार्वजनिक भएको छ । घटना विवरण अनुसार सहोदर हजुरबाले पाँच वर्षे नातिनीलाई वलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
माया र स्नेह दिँदै छहारी दिनुपर्ने सानी नातिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ५१ वर्षे हजुरबालाई ललितपुरको टिकाथलीबाट पक्राउ गरेको छ ।
आफ्नै छोराको ५ वर्षे नातिनीलाई बलात्कार गरेको आरोपमा रौतहट जिल्ला चन्द्र निगाहपुर १ पौराही घर भई गत २२ जेठदेखि टिकाथलीको एक घरमा फ्ल्याट भाडामा लिई बस्दै आएका ५१ वर्षे हजुरबा पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ ।
आरोपीका छोरा र बुहारी विदेशमा भएको कारण आफ्नो संरक्षणमा रहेको नातिनीलाई सहोदर हजुरबाले अर्काे कोठामा सुतेको अवस्थामा उठाएर आफुसंगै लगेर अप्राकृतिक मैथुनको साथै बलात्कार गरेको पीडित नातिनीले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ ।
आफुलाई सहोदर हजुरबाले बलात्कार गरेको कुरा पीडित नावालिकाले आफ्नी फुपुलाई सुनाएपछि फुपुको जाहेरीको आधारमा प्रहरीले बलात्कारीलाई पक्राउ गरेको हो । पीडित नावालिकाको घाउ जाँच र आवश्यक स्वास्थ्य परिक्षणको लागि प्रसुती गृह थापाथलीमा लगिएकोमा त्यसको प्रारम्भिक रिपोर्ट आइसकेको र विस्तृत रिपोर्ट केही दिनभित्रै आउने प्रहरीले जनाएको छ ।
पीडकको नाम सार्वजनिक गर्दा पीडित नातिनीको नाम पनि सार्वजनिक हुने हुँदा प्रहरीले दुबैको नाम गोप्य राखेको छ । बलात्कारीको आरोपी एकाघरका हजुरबालाई महानगरीय प्रहरी वृत्त सातदोवाटोले सोमबार साँझ टिकाथली डेराबाट पक्राउ गरि थप अनुसन्धानको लागि थुनामा राखेको वृत्त प्रमुख, डिएसपि गौतम मिश्रले बताए ।
आरोपीलाई मंगलबार नै पाँचदिनको म्याद थपि थप अनुसन्धान गरिरहेको वृत्त प्रमुख मिश्रले बताए । आरोपीले आफुले बलात्कार गरेको स्विकार गरेकोले निजलाई नावालिकाको बलात्कार र हाडनाता करणी समेतगरी दोहोरो सजायको माग गर्दै आरोपपत्र दर्ता गरिने प्रहरीले जनाएको छ ।
बलात्कार आरोपीकी ५० वर्षिया पत्नि केहीदिन अघि स्तन क्यान्सरको शल्यक्रिया गरि आइतबार मात्रै भक्तपुर क्यान्सर अस्पतालबाट डिस्चार्ज भएर डेरामा फर्केकी थिइन् । आइतबार रातीको घटना भएतापनि पीडित नावालिकाले हजुरआमालाई नभनी फुपुलाई घटनाबारे बताएकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्