राजनीति

मन्त्रिमण्डल तत्काल पुनर्गठन हुँदैन : मन्त्री महासेठ



काठमाडौँ, ११ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले मन्त्रिमण्डल पूनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको बताए ।

उनले भने, ‘मन्त्रिमण्डल पूनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखिनै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाइएको हल्ला मात्र हो ।’

तत्काल मन्त्रिमण्डल पूनर्गठन हुने संभावना नभएको बताउदै उनले भने, ‘मन्त्रिमण्डल पूनगर्ठन भएपनि अध्यक्षद्धयको सल्लाहमै हुन्छ । हुन सक्दैन भनेर भन्न सकिँदैन । यो पार्टीले गर्ने निर्णय हो । तर, तत्काल मैले यो सम्भावना देखेको छैन । मन्त्रिमण्डल पूनगर्ठनबारे दिनहुँ नयाँ समाचार आईरहेका छन् । यसबारेको बजारिया हल्ला र प्रचण्डको कुरा एउटै छैन । अध्यक्ष प्रचण्डले बजारको हल्लाजसरी बोल्नुभएको छैन ।’

विकास निर्माण, समृद्धि र राजनीतिक कुनै पनि मोर्चामा सरकार असफल नभएको बताउदै उनले भने, ‘सडक, रेल, पुल–पुलेसा हामीले धेरै बनाएका छौं । नयाँ–नयाँ सडक बनाउनेदेखि ट्रयाक खोल्नेसम्मका धेरै काम गरेका छौं । यसमा पनि हामीले रेकर्ड नै कायम गरेको छ ।’