Banner News

आयआर्जन गर्ने सबै प्यानको दायरामा आउनैपर्छ : मन्त्री खतिवडा



काठमाडौँ, १४ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले आयआर्जन गर्ने सबैलाई स्थायी लेखा नम्बर (प्यान) को दायरामा ल्याउने बताएका छन ।

शुक्रबार संसदमा आर्थिक विधेयक, २०७६ माथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको आज जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउँदै अप्रत्यक्ष राजश्व प्रणालीलाई प्रत्यक्षमा लैजाने गरी कर नीति निर्धारण गर्ने बताएका छन ।

मन्त्री खतिवडाले समान आम्दानी हुनेले समान कर तिर्नुपर्छ भन्ने प्रगतिशील कर नीति भएको उल्लेख गर्दै वर्ग विशेषलाई करमा छुट दिनेभन्दा समान रुपमा कर उठाई विपन्न वर्गलाई अनुदान दिने बाटो सरकारले लिएको बताए ।

मूल्य अभिवृद्धि कर (भ्याट) मा नक्कली बिलविजक पेश गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताउदै ऋण लिएर सबै कुरामा निःशुल्क गर्न नसकिने भएकाले अहिले गर्ने उपभोग अहिले नै करबाट उठाउने नीति सरकारले लिएको उनको भनाई थियो ।

व्यावसायिक रुपमा चल्ने संस्थालाई केही छुट दिन लागिएकाले पनि अहिलेको कर नीति प्रगतिशील भएको र यस्तै विधेयकमा मूल्य अभिवृद्धि करभन्दा आयकर वृद्धि गर्ने नीति लिइएको, सरकारले उठाउने कर कुनै सुविधा नदिइ उठाउने प्रतिबद्धता पनि अर्थमन्त्री खतिवडाले जनाएका थिए ।