राजनीति

जनताको समस्या तथा गुनासो सुन्न प्रहरी टोल-टोलमा आउनुपर्छ : सांसद बस्नेत



भक्तपुर, १५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आम नेपाली जनताको समस्या तथा गुनासो सुन्न प्रहरी आफै टोल टोलमा आउनुपर्ने बताउनुभएको छ ।

शनिवार सामुदायीक विकास तथा सेवा केन्द्र, सामुदायीक प्रहरी केन्द्र गठ्ठाघर र महानगरिय प्रहरी वृत्त थिमीले संयुक्त रुपमा आयोजना गरेको सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अपराध नियन्त्रण/न्युनिकरणमा समुदाय – प्रहरी साझेदारी अवधारणाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद बस्नेतले देशमा हुने विभिन्न प्रकारका हिंसा, बलात्कार, अपराधिक घटना, सवारी दुर्घटना, लागुऔषध नियन्त्रणलगायतका घटनाहरु न्युनिकरण गर्न प्रहरी गाउँ गाउँमा जानुपर्ने बताउँदै सामुदायीक प्रहरी साझेदारी कार्यक्रमले देशमा हुने अपराधिक कृयाकलापहरु न्युनिकरण हुँदै गएको बताउनुभयो ।

सांसद बस्नेतले सरकारले जनता, नीजि र सरकारीबीचको साझेदारी कार्यक्रम अघि सारेको बताउँदै समुदायमा सहकार्य नै विकास र समृद्धिको आधार भएको बताउनुभयो । विपद्को समयमा मात्र नागरिकले प्रहरीको खोजी गर्ने तर सहज परिस्थितीमा प्रहरीले राज्यको सवालमा गरेका कामहरुको विरोध गर्ने मनोविज्ञान रहेको बताउँदै उहाँले त्यसलाई मानिसको मन मष्तिस्कबाट नै तोड्नु अहिलेको आवश्यकता रहेको औल्याउनुभयो ।

सहकार्य र संस्कारको विकास गर्नु वर्तमान अवस्थाको अनिवार्य आवश्यकता रहेको बताउँदै उहाँले अपराध न्युनिकरणमा प्रहरीले उल्लेख्य उपलब्धी प्राप्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा सरकारले शान्ति सुरक्षालाई व्यवस्थित गर्दै लगेको छ । पछिल्लो समय हिंसा, बलात्कार, लागुऔषध लगायतको प्रयोग जस्ता अपराधिक कृयाकलापहरु बढेको नभई सरकारले कारवाही गर्न थालेको छ । सरकार र प्रहरीको सहयोगकै कारण पिडितले बाहिर ल्याउन थालेका छन् । पिडितले दिएको उजुरीलाई प्रहरीले कानुन अनुसार कारवाही अघि बढाउनुपर्छ । जसले गर्दा देशमा हुने विभिन्न प्रकारका हिंसा, बलात्कार तथा अपराधजन्य घटनाहरु नघटोस् ।’

नेपाल प्रहरीले करिब ९५ प्रतिशतभन्दा बढी घटनाहरुमा सफलता प्राप्त गरेको बताउँदै उहाँले महिला हिंसा नियन्त्रण गर्न सिंगो समाज एकजुट हुनुपर्ने धारणा राख्नुभयो । भ्रष्टाचार, अपराधिक कृयाकलाप तथा हिंसा नियन्त्रण गर्न सामुदायीक प्रहरी कार्यक्रम भएको बताउँदै उहाँले प्रहरीलाई विभिन्न बहानामा राजनीतिमा जोड्नु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय घटनाहरु पत्ता लगाउन प्रहरीलाई समय लाग्छ । जसमा निर्मला पन्तको हत्यारा पत्ता लगाउन पनि प्रहरीलाई समय लागेको छ । ढिलो चाँडो भएपनि उक्त हत्यारा पत्ता लाग्छ । यसमा नेपाल सरकार तथा नेपाल प्रहरी विभिन्न तरिकाले अनुसन्धानमा लागि परिरहेको छ । विभिन्न घटनाहरु धेरै वर्षपछि पत्ता लागेको उदाहरणहरु प्रसस्त छन् । त्यसैले हत्यारा उम्कन पाउँदैन ।’

भक्तपुरको विकास र सहकार्य देशको लागि मार्गदर्शक रहेको बताउँदै उहाँले आगामी दिनमा जुन जुन कार्यालयमा बढी भ्रष्टाचार तथा अनियमितता हुन्छ, त्यो कार्यालयमा प्रहरी तथा नागरिक समाजका अभियान्ताले हेल्प डेक्स राखी भ्रष्टाचार, अनियमिता, हिंसा, दुर्घटनालगायतको न्युनिकरण गर्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सानो सानो कामबाट समाजलाई परिवर्तन गर्न सकिने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सडक दुर्घटनाको मुख्य समस्या भनेको नै तिव्र गतिमा सवारी साधन चलाउनु भएकाले भक्तपुरले प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतिमा कुदाउन नपाउने व्यवस्था लागु गरेसँगै केही मात्रामा दुर्घटना न्युनकिरण हुन सुरु भएको बताउनुभयो ।

विकासमा कुनै पनि राजनीति आलोचना गरी अवरोध गर्नु नहुने बताउँदै उहाँले भक्तपुरको सूर्यविनायक नगरपालिकामा भएको दुई पटक र चाँगुनारायण नगरपालिकामा भएको घुम्ती सिविरले भ्रष्टाचारलाई शुन्यतामा झार्ने काम गरेको र निम्न वर्गको मानिसले सहजै रुपमा सरकारी सेवा आफ्नै गाउँमा लिन पाएको बताउनुभयो ।

जतिसुकै इमान्दार भएपनि फाइदा हुने भएपछि पाप सोच्ने काम हुने बताउँदै त्यस्ता पापजन्य गतिविधिहरुलाई आफैबाट हटाउनुपर्नेमा जोड दिँदै आफ्नो आदर्श, शिक्षा, अगुवाले देखाएको बाटो आम नागरिकले सही दिशामा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अपराध गर्ने मनोविज्ञानलाई नै त्याग्नुपर्छ । विदेशमा नेपाली गए वातावरणलाई स्वच्छ गर्न सहयोग गर्ने तर नेपालमा आएपछि ठिक उल्टो गर्ने गरेका छन् । यस्तो प्रकारको मनोविज्ञान र आफ्नो पहिचानलाई परिवर्तन गर्नुपर्छ ।’

प्रदेश नं. ३ का सांसद प्रतिमा श्रेष्ठले राज्यको सेवा सुविधा लिएका जोसुकै जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका कर्मचारीलगायतले देशमा जति पनि हिंसा तथा हत्याका घटनाहरु भएका छन् त्यसमा अघिकाशं घटनामा महिला पिडित भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले आफ्नो प्रदेशमा आवश्यक पर्ने सामुदायीक प्रहरी भवन निर्माण प्रकृया अघि बढाएको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा डिआइजी शैलेस थापाले विभिन्न प्रकारका अपराधजन्य घटनालाई निस्तेज पार्न नेपाल प्रहरीले २४ सैं घण्टा निरन्तर खट्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय हुने केही प्रकृतिका बलात्कारका घटनाहरुमा प्रहरीलाई कारवाही गर्न समस्या रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा बुबा तथा आफन्तले आफ्नो छोरीलाई हातमा समाएर लगेको हुन्छ र घर वा डेरामा लगि बलात्कार गर्छ । जुन बलात्कार हुन नदिन प्रहरीले आफ्नो आफन्त छोरी चेलीको हात समाएर हिड्न पाइदैन कसरी भन्ने ? पछिल्लो समय हुने गरेको बलात्कारका घटनामा आफन्तकै संलग्नता धेरै रहेको पाइन्छ ।’

मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, वडा नं. ७ का वडाध्यक्ष कृषण कुमार प्रजापति, वडा नं. ३ का वडा सदस्य कृष्ण हरी आचार्य, डिएसपी शान्तिराज कोइराला, नेपाल पत्रकार महासंघका सभापति पुस्करराज बुढाथोकी, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, अन्नपूर्ण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष देवराज न्यौपानेलगायतले शान्ति सुरक्षा व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन सिसि क्यामरा जडान तथा मर्मत गर्नुपर्नेमा जोड दिनुभयो ।