राजनीति

भू–माफियाले देश हड्प्न खोजे, राजनीतिमा सफाई गर्नुपर्छ : सभामुख महरा



भक्तपुर, १५ असार । संघिय संसदका सभामुख कृष्णबहादुर महराले देशलाई भू–माफियाले हडप्न खोजेको बताउँदै विकास र समृद्धिको लागि राजनीतिलाई सफाई जरुरी रहेको बताउनुभएको छ ।

विश्व वातावरण दिवस तथा हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका, दक्षिण बाराही उद्यान सामुदायीक बन उपभोत्ता समूहको संयुक्त सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजनामा गरिएको राष्ट्रिय वृक्षारोपण तथा सरसफाई कार्यक्रममा बोल्दै सभामुख महराले वातावरण सफा गर्न मानिसको मन, आत्मादेखी नै सफा गर्नुपर्ने औल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ जरुरी छ ।’ त्यस्तै उहाँले देशमा माफियाहरु व्यापक मात्रामा सक्रिय हुँदै आएको बताउँदै उहाँले भन्नुभयो, ‘अहिले देशमा माफियाहरु सक्रिय छन्, यस्ता माफियाले देशै हडप्न खोजेका छन् ।’

विकासमा कुनै राजनीतिक दल भन्नु नहुने बताउँदै उहाँले देश र जनताको विकास प्रतिको सपना पुरा गर्न सत्ता पक्ष तथा प्रतिपक्ष एक ढिक्का भई अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले देशको साझा संकल्प समृद्ध नेपाल सुखी नेपाली भएकाले त्यसलाई यथार्थमा परिणत गर्न सवैले हातमा हात काँधमा काँध मिलाई लक्ष्यमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा बताउँदै व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरी जस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले अहिले वृक्षारोपण गरीएको स्थान देशकै पर्यटकिय स्थलको रुपमा विकास हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘नेपाल पर्यटकीय, सांस्कृतिक, धार्मिक लगायतका कुराहरुले विश्वकै धनि मुलुक मध्येमा पर्छ । नेपालमा विश्वभरका लाखौं पर्यटकहरु आउने गरेको छन्, जसलाई व्यवस्थित ढंगले अघि बढाउन सके देशले ठूलो आर्थिक उन्नती गर्नेछ ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरलाई आगामी तीन वर्षभित्र देशकै नमूना जिल्ला बनाउने बताउनुभयो । उहाँले भक्तपुरको विकास भएको मात्र नभई दु्रत गतिमा दैडिएको बताउँदै विकास र समृद्धिको बारेमा आगामी केही वर्षपछि देश विदेशका विद्यार्थीका लागि अध्ययन अनुसन्धान गर्ने जिल्लाको रुपमा विकास हुने बताउनुभयो ।

सांसद बस्नेतले आकाशे पानी सङ्कलन अभियान, प्रत्येक सामुदायिक वनमा कम्तीमा एक पोखरीको निर्माण गर्ने, सडक बालबालिकामुक्त जिल्ला बनाउने, जाममुक्त, उज्यालो भक्तपुर बनाउने अभियान समेत सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले करीब २३ रोपनी क्षेत्रफलमा फैलिएको दक्षिण बाराही उद्यान सामुदायिक वनमा प्रदेश सरकारको रु ७० लाखको लागतमा अत्याधुनिक र आकर्षक पार्क निर्माणकार्य भइरहेकाले यस्ता पार्कको विभिन्न ठाउँमा विस्तार गर्दै लैजाने बताउनुभयो । उहाँले पानीको समस्याका कारण जनवारले समेत मानव माथि आक्रमण गर्ने गरेको उदाहरण प्रस्तुत गर्दै आगामी दिनमा प्रत्येक वडामा तथा प्रत्येक बनमा एक एक वटा ताल निर्माणको प्रकृया समेत अघि बढाउने योजना रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद शसी जंग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख एवं हनुमन्ते सफाइ अभियानका संयोजक वासुदेव थापा, मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मघिकर्मी, दक्षिण बाराही उद्यान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ,  हनुमन्ते सफाइ अभियानका उत्प्रेरक रूद्र पौडेललगायले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमा प्रदेश सांसद प्रतिमा श्रेष्ठ, सरस्वती बाटी, चाँगुनाराण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।

नेपाल रेडक्रस, जीबन बिज्ञान, वेभ ग्रुप, नेप्सेम्याक, पातञ्जल नेपाल, नेपाल फुलबारीका प्रतिनिधिहरु, बिभिन्न संघ संस्थालगायत स्थानीयबासी र सञ्चारकर्मीहरु सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी, बिभिन्न सामाजिक संस्था, राजनीति दलका कार्यकर्तालगायतको पनि उत्साहजनक सहभागिता रहेको थियो ।