भक्तपुर, २३ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपालाई विस्थापीत गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थापीत हुन्छु भन्ने सोचेको छ भने त्यो सिसाको घरमा बसेर ढुङ्गा हानेजस्तो मात्र हुने बताउनुभएको छ ।
नेकपा मध्यपुर थिमी नगरपालिकाको नगरभेलाई सम्बोधन गर्दै नेता बस्नेतले देशको अभिभावक पार्टी नेकपा भएको र जनताको चाहना र अपेक्षा अनुसार अभिभावकत्व ग्रहण गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले नेकपाले विचार, भिजन तथा धारणा दिने ठाउँमा भएकाले निरन्तर रुपमा देशको समृद्धिको यात्रामा तिव्र गतिका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा समस्या उत्पादन गर्ने पार्टी होइन, समस्याको समाधान गर्ने पार्टी भएको बताउँदै उहाँले नेकपाले आगामी दिनमा सन्तुलित तथा बौद्धिक ढंगले अघि बढ्नुपर्ने बताउनुभयो । आक्रोस र कुण्ठा बोक्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउँदै सांसद बस्नेतले देशको विकास र समृद्धिमा नेकपा कमजोर नभई बलियो र पारदर्शी भएको बताउनुभयो ।
नगरको एजेण्डा पार्टीको पनि एजेण्डा हुने, संघ र प्रदेशबाट आउने हरेक बजेट पार्टीको एजेण्डा हुने बताउँदै सांसद बस्नेतले नेकपाका कार्यकर्ता इमान्दार हुन आवश्यक रहेको औल्याउनुभयो । प्रतिस्पर्धामा नेकपा र कांग्रेसले मध्यपुरमा गरेको कामको भिन्नता तथा गुणस्तरिय नेकपाले गरेको उत्कृष्ट हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, दम्भ र घमण्ड गर्ने नेकपाका कार्यकर्ता हुन सक्दैनन् । पार्टीको निर्णय बोकेर हिड्नु कार्यकताको जिम्मेवारी भएको हो । पार्टी भित्र रहेका आन्तरिक समस्या समाधान पार्टी भित्र नै हुनुपर्छ । मनमा लागेका कुरा पार्टीको आन्तरिक छलफलमा गर्नुपर्छ । भक्तपुरका समस्या समाधान गर्न नेकपाको एउटै विचार बनाउनुपर्छ ।’
भक्तपुरमा नेकपा प्रति कुनै गुनासो नरहेको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले मध्यपुरमा बहुमतको आधारमा कांग्रेसले अघि बढेमा नेकपाले शसक्त रुपमा प्रतिवाद गर्ने समेत चेतावनी दिनुभयो । उहाँले कुनै राजनीतिक दलको नीति, सिद्धान्त बोकेर नेकपा माथि हुने आक्रमण सैह्य नहुने बताउँदै भन्नुभयो, ‘मध्यपुरमा कांग्रेसको जनमत पनि छैन, पपुलर पनि छैन, हैसियत पनि छैन जसको परिणाम आउँदो निर्वाचनमा देखिनेछ ।’
मध्यपुरको विकास तथा नीति, नियम बनाउने कुरामा नेकपा कांग्रेससँग छलफल गर्न तयार रहेको बताउँदै उहाँले विपक्षीको गढ मानिएको ठाउँमा समेत नेकपाले उल्लेख्य जनमत प्राप्त गर्दै गएको बताउनुभयो । स्थानीय तहमा कुनै पनि पार्टी निर्वाचित भएको छ भने त्यो सत्ता पक्ष र प्रतिपक्ष नहुने बताउँदै उहाँले भन्नुभयो, ‘ कांग्रेस र नेकपा मिलेर मध्यपुर नगरपालिका चलाउन भनि जनताले म्याण्डेट दिएका छन् । स्थानीय तहमा कसैले म प्रतिपक्षी भन्छ भने त्यसले नगरको कार्यपालिकाबाट राजिनामा दिनुपर्छ ।’
फरक आस्था राख्नेलाई समेत विकासमा समेट्दै जानुपर्ने बताउँदै सांसद बस्नेतले विधि र प्रकृयालाई जनप्रतिनिधिले शतप्रतिशत अवलम्बन गर्दै तीनै तहका सरकारबीच समन्यवकारी भूमिका निर्वाह गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । एकतावद्धता नै मुलुकको विकास भएकाले विकासमा सत्ता पक्ष र प्रतिपक्षी भन्नु नहुने बताउँदै उहाँले भन्नुभयो, ‘हनुमन्ते नदी निर्माणको सवालमा अनावश्यक लोकप्रीय हुने काम गरेर केही हुनेवाला छैन, सहमति र सहकार्यको माध्यमबाट अघि बढ्नुको कुनै विकल्प छैन र हनुमन्ते नदीको करिडोर तिव्र गतिका साथ निर्माण हुनुपर्छ । हनुमन्ते नदी सफाई, अरनीको राजमार्ग सफाई लगायतका अन्य विकास निर्माणका कार्यहरुमा एकताबद्ध रुपमा अघि बढेको र यसलाई निरन्तरता दिनुपर्छ । आम भक्तपुरको विकास प्रतिको चाहना शतप्रतिशत पुरा गर्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्