राजनीति

हनुमन्तेको करिडोर निर्माण रोकिदा भक्तपुरको केही भाग डुबानमा : सचेत रहन आग्रह



भक्तपुर, २७ असार । हनुमन्ते नदीको करिडोर निर्माण कार्य रोकिएका कारण बुधवारदेखि लगातार परेको अविर वर्षाका कारण भक्तपुरका केही भाग डुवानमा परेका छन् ।

लगातारको अबिरल बर्षासँगै उपत्यकाको खोलाहरुमा पानीको सतह बढदा अधिकांश स्थान डुवानमा परेका छन । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाहरुमा डुवानको समस्या देखिन थालेसँगै बाढी पहिरोबाट सुरक्षित रहन स्थानीयवासीलाई आग्रह गरिएको छ । काठमाडौं उपत्यकाबाट बग्ने नदीहरुसमेत उच्च बहावका साथ बगिरहेका छन् । बागमती, बिष्णुमती, हनुमन्ते, मनोहरा लगायतका नदी तथा खोलाहरुमा तिब्र रुपमा बाढी आएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरी खोलाको जग्गा हडप्ने लामो समयदेखिको चलखेल र करिडोर निर्माणमा अवरोध गर्दा भक्तपुरको हनुमन्ते खोलाले फेरि बितण्डा मच्चाउने साथै ठूलो धनजनको क्षती पुग्ने देखिएको छ । हनुमन्ते नदीको डुवानलाई स्थायी रुपमा समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अघि बढाउनु भएको हनुमन्ते करिडोरको दायाँबायाँ रिटेनिङ्ग वाल निर्माण कार्यमा अवरोध गर्दा अहिले भक्तपुरको चार दोवाटो आसपासका क्षेत्र डुवानमा परेको छ । ठिमीको चारदोवाटो जहाँ विवाद निकालेर हनुमन्ते करिडोरको काम रोकिएको थियो । त्यस ठाउँमा अहिले पुरै डुबान भएको छ ।

त्यस्तै भक्तपुर नगर भएर बग्ने हनुमन्ते खोला आसपासका खेतबारीमा क्षति पुगेको छ । भक्तपुरको ठिमीपुलमा बाढीले क्षति पुर्याएको छ । उच्च रुपमा आएको बाढीले पुलको दुबैतर्फको भागमा कटान गरेको छ भने बस्तीमा सम्ममा बाढी पुगेको छ । यता राम मन्दिर पुलमासमेत बाढीको बहाव उच्च देखिएको छ । बाढीले पुलको माथिल्लो भाग भएर बगिरहेको छ ।

अघिल्लो बर्ष राधेराधे, नयाँ ठीमीलगायत जुनजुन ठाउँमा डुवान भएको थियो, हाल हनुमन्ते करिडोरको दायाँबायाँ रिटेनिङ्ग वाल निर्माण भएका त्यस ठाउँहरुमा खोला छिरेको छैन ।