Banner News

प्रधानमन्त्री ओलीको निर्देशन : सप्तकोशीका ५६ वटै ढोका खोलियो



इटहरी, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएका छन् ।

सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिनुभयो ।

सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार पानीको बहावे ३ लाख ७१ हजार एक सय १० क्युसेक प्रतिसेकेण्ड रहेको छ । शनिबार दिउँसो ४१ वटा ढोका खोलिएको थियो । नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

पानीको बहाव बढेर गएपछि पूर्वपश्चिम आवतजावत गर्ने सवारीसाधनलाई पालोपालो जाने व्यवस्था गरिएको छ । शुक्रबारदेखि कोशी ब्यारेजमा खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो । खोलिएका ब्योरजका ढोकाका कारण कोशीको पानीले भारतीय भूमि डुबानमा पर्ने खतरा बढेको भन्दै भारतीय पक्षले ब्यारेजको ढोका बन्द गर्न निर्देशन दिएको बुझिएको छ ।

कोशी ब्यारेजका ढोका बढी मात्रामा खोल्दा बिहार लगायतका क्षेत्रमा डुबान तथा बाढीको समस्या बढेको भन्दै भारतीय पक्षले कोशी ब्यारेज कन्ट्रोल रुमलाई ठाडो निर्देशन दिएको बुझिन आएको छ । यद्यपी सो विषयमा ब्यारेज स्थित कन्ट्रोल रुमले केही बताउन चाहेको छैन् ।