समाचार

यस्तो छ तीन दिनसम्मको मौसम



काठमाडौँ, ३० असार । देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । अहिले पनि पूर्वी, मध्य तथा पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भैरहेको छ ।

वर्षाका कारण देशको पहाडी भूभागमा पहिरो र तराईमा बहने नदीमा जलको बहाब बढेर बाढी जान सक्ने देखिको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको हो ।

महाशाखाले आउँदो तीनदिनसम्म मौसम बदली भई देशका विभिन्न ठाउँमा पानी परिरहने पूर्वानुमान गरेको छ । सोमबार दिनभर मौसम बदली भई केही स्थानमा पानी पर्ने देखिएको भए पनि राति भने देशभर अधिकांस स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै मंगलबार पनि दिनभर मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ । मंगलबार राति भने देशभर मौसम पूर्ण बदली भई वर्षा हुने सम्भावना छ ।

बुधबार पनि देशैभर दिनभर बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।