काठमाडौँ, ५ साउन । भएभरका फोहोर एउटै डस्टबिनमा फाल्ने संस्कारले फोहोर व्यवस्थापनमा चुनौती हुने गरेको छ । फोहोरको समस्या कहिल्यै समाधान नहुने मुख्य कारण पनि त्यही हो भन्छन्– फोहोर व्यवस्थापनमा काम गरिरहेका विज्ञहरू । फोहोरलाई स्रोतमै छुट्याउँदा जोखिमयुक्त फोहोरसमेत आम्दानीको दरिलो माध्यम बन्ने अनुपम उदाहरण बनेको छ शिक्षण अस्पताल ।
अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोरलाई पनि प्रभावकारी ढङ्गमा व्यवस्थापन गरी विगत दुई वर्षदेखि अस्पतालले प्रतिमहिना ४० देखि ४५ हजार रुपियाँसम्म आम्दानी गरिरहेको छ । दुईवटा चुलो निरन्तर बल्ने बायोग्याससमेत उत्पादन गर्दै आएको छ । नेपाल हेल्थ केयरको प्राविधिक सहयोगमा अस्पतालको १९ वार्डमा मात्र सञ्चालित फोहोर व्यवस्थापनको सफल नतिजाको प्रतिफल हो त्यो ।
अस्पतालको मिर्गौला उपचार गरिने नेफ्रो (मोडेल वार्ड)को काउन्टर अगाडि लहरै कालो, रातो, नीलो, हरियो र गाढा नीलो रङको डस्टबिन लहरै राखिएका छन् । ती डस्टबिनमा नेपाली र अङ्गे्रजी भाषामा खाना, फलफूल, प्लास्टिक, कागज र पानीका बोतल छुट्ट्याएर राख्ने भनेर लेखेरै राखिएका छन् । त्यसको सीधामाथि भित्तामा हरेक डस्टबिनमाथि पढ्न, लेख्न नसक्नेका लागि चित्रसहित स्टिकर टाँसिएका छन् ।
त्यसैगरी रातो सानो डस्टबिनमा टिस्युपेपर मात्र । यी सबै डस्टबिन त्यहाँ उपचारका लागि भर्ना भएका बिरामी र तिनका कुरुवाले प्रयोग गर्छन् । विशेषगरी रातो डस्टबिनमा चाहिँ सङ्क्रमण फैलाउन सक्ने सम्भावना भएको जोखिमयुक्त फोहोर मात्र राख्नुपर्ने व्यवस्था छ । वार्डको भित्र पनि त्यसैगरी डस्टबिन लहरै राखिएका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्