सेवाग्राहीकै भेषमा अख्तियारको ‘र्यापिड एक्सन फोर्स’ देशभर खटिएको छ । उनीहरू स्थानीय तह, मालपोत, नापी, यातायातलगायत सार्वजनिक सरोकारका कार्यालयमा खटिएका छन् ।
अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन् । उनीहरूले कार्यालयका कामकारबाहीको सूक्ष्म निगरानी गरिरहेका हुन्छन् । ढिलो गर्ने, झुलाउनेदेखि घुस माग्नेसम्मको गतिविधि उनीहरूको निगरानीमा हुन्छ । यस्ता कार्य नियन्त्रणमा आफू अग्रसर हुँदैनन्। उनीहरू अर्को टोलीलाई खबर गर्छन् । त्यसले नियन्त्रणमा लिन्छ । त्यस बेला पनि अघिल्लो टोलीका कर्मचारी सेवाग्राहीजस्तै हुन्छन् ।
फोर्सकै कारण ‘स्टिङ अपरेसन’सहित अख्तियारको क्रियाशीलता बढेको प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए । ‘अपरेसन बढेको छ’, प्रवक्ता कोइरालाले भने। प्रमुख आयुक्त नवीनकुमार घिमिरेको अगुवाइमा फोर्स परिचालित छ । टोलीले शनिबार दोलखाको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर प्रकाश अधिकारी, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र चालक सुमन खड्काको पिछा गर्यो । फोर्सकै सक्रियतामा उनीहरू १४ लाख ६७ हजार रुपैयाँ घुससहित भक्तपुरको जगातीबाट पक्राउ परे ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारदेखि ठूलो संख्यामा इन्जिनियर पक्राउ परिरहेका छन् । विकास निर्माणको अन्तिममा इन्जिनियरले घुस लिने गरेको पाइएको छ । अख्तियारको निगरानी पनि इन्जिनियरतर्फ केन्द्रित देखिन्छ । पछिल्लो एक सातामा २० जनाभन्दा बढी इन्जिनियर रंगेहात पक्राउ परेका छन् । शनिबार मात्रै ८ जनालाई अख्तियारको फन्दामा परे । याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ ।










प्रतिक्रिया दिनुहोस्