राजनीति

अपराधीलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी ९७ प्रतिशत सफल : गृहमन्त्री थापा



काठमाडौँ, ७ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले अपराधीक घटनामा ९५ प्रतिशत र समग्र अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी ९७ प्रतिशत सफल भएको दावी गर्नुभएको छ ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले केही घटनामा सफलता हात पार्न नसकिएको र विगतका सरकारका पालामा भएका घटनामा पनि यस्तो हुने गरेको भन्दै गृहमन्त्री थापाले भन्नुभयो, ‘यस्तो अरु देशमा पनि हुन्छ । अमेरिकामा पनि हुन्छ ।’

निर्मला पन्तको बलात्कारपछि हत्याको घटना जघन्य अपराध भएको बताउँदै मन्त्री थापाले यस्ता घटनालाई पूर्णरुपमा रोक्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस किसिमका अपराध नयाँ र पहिलो होइन । निर्मला प्रकरणहरु यसभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ । यस किसिमको अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं ।’

गृहमन्त्री थापाले निर्मला प्रकरण र यस्ता अपराधिक घटनामा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले निर्मला पन्त प्रकरणको राजनीतिकरण भएको भन्दै असन्तुष्टि जनाउँदै गृह जोडिएको छ, अपराधीहरुलाई बचाउन खोज्यो भन्नु दुःखद भएको बताउनुभयो ।