राजनीति

तीन वर्षभित्र मुलुकमा देखिने गरी परिवर्तन हुन्छ : नेता भट्टराई



नेपालगञ्ज, १० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले अबको तीन वर्षभित्र मुलुकमा देखिने गरी परिवर्तन हुने दावी गर्नुभएको छ ।

प्रेस संगठन बाँकेले बिहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले अघिल्लो आर्थिक वर्ष सरकारको आधार वर्ष भएको भन्दै चालु आव आर्थिक विकास र समृद्धिको वर्ष हुने दाबी समेत गर्नुभयो ।

आउँदो हप्तामा सम्पूर्ण कार्य पूरा गरी एकता पूर्ण भएको घोषणा गरिने पार्टीको योजना रहेको जानकारी गराउनुभयो । नेता भट्टराईले एक वर्षभित्र मातहत कमिटीको अधिवेशन गरी डेढ वर्षभित्र एकताको महाधिवेशन गर्ने बताउनुभयो । उहाँले दुई महिना संगठन सुदृढीकरण र जनपरिचालन गरिने समेत उहाँले बताउनुभयो ।

उहाँले पार्टी एकतालाई पूर्णता दिनेक्रममा स्कुल विभागको प्रमुखका लागि देखिएको विवाद सामान्य भएको बताउनुभयो । उहाँले स्कुल विभागको नेतृत्व जसको भए पनि पार्टीको लाईन जनताको जनवाद नै हुने स्पष्ट पार्नुभयो ।