काठमाडौँ, १८ साउन । पुलिस स्कुलमा पढ्ने शौभाग्य पाएका साना विद्यार्थीको स्वास्थ्य जाँच गर्न नेपाल प्रहरी अस्पताल महाराजगञ्जका उच्च ओहोदाका प्रहरी अधिकारी नै पुगेपछि शुक्रबार नेपाल पुलिस स्कुल सामाखुसीका विद्यार्थी दंग देखिन्थे । नेपाल प्रहरीको कल्याणकारी कोषबाट सो विद्यालय सञ्चालित छ ।
नेपाल प्रहरीले अघि सारेको ‘समुदाय—प्रहरी साझेदारी कार्यक्रम’ मार्फत नेपाल प्रहरी अस्पताल महाराजगंज र नेपाल पुलिस स्कूल, सामाखुसीको संयुक्त आयोजनामा सो विद्यालयमा शुक्रबार एक दिवसीय निःशुल्क स्वास्थ्य शिवीर आयोजना गरिएको थियो ।
त्यसो त नेपाल पुलिस स्कुलमा उच्च ओहोदाका वालरोग विशेषज्ञ प्रहरी अधिकारी नै गएर विद्यार्थीको स्वास्थय परिक्षण गरेको भने यो पहिलो हो । पछिल्लो समयमा विद्यालयले विद्यार्थीको हितको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अनुरुप विद्यालयमै पहिलोपल्ट साना विद्यार्थीको निशुल्क स्वास्थ्य जाँच आयोजना गरिएको हो ।
शिवीरमा नेपाल प्रहरी अस्पताल, महाराजगंजका दोस्रो ओहोदाका अधिकारी अर्थात प्रहरी नायव महानिरीक्षक (डिआईजि) एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा.मिनराज पाठकको नेतृत्वमा अर्का वरिष्ठ वालरोग विशेषज्ञ, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपि) डा.सुजयराज वर्मा आफैं पुगेका थिए ।
डा.पाठकको नेतृत्वमा थप दुईजना प्रहरी निरीक्षक डा.श्रीविन्दु शर्मा र प्रहरी नायव निरीक्षकद्वय गोकर्ण कट्टेल र जगन्नाथ अधिकारी, प्रहरी सहायक निरीक्षक राजाराम इटनी र केही प्रहरी जवानहरु खटिएका थिए । त्यसो त विद्यालयका समादेशक प्रहरी निरीक्षक हिमा थोकर तथा भाइस प्रिन्सिपल ओम प्रसाद भुसाल र स्काउट गुरु सुरज खनाल पनि खटिएका थिए ।
प्रहरी अस्पतालका वरिष्ठ वालरोग विशेषज्ञ तथा दन्त विशेषज्ञको टोलीले नेपाल पुलिस स्कूलका नर्सरीदेखि एलकेजी, युकेजी र एक कक्षाका दुईसय साना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । उनीहरुको उचाई र तौल नाप्नुका साथै उनीहरुको आँखा, नाक, कान, घाँटी, दाँत र पेटको जाँच गरिएको थियो ।
स्वास्थ्यकर्मी टोलीका प्रमुख वरिष्ठ वालरोग विशेषज्ञ प्रहरी नायव महानिरीक्षक डा.पाठकका अनुसार स्वास्थ्य परिक्षण गरिएकामध्ये अधिकाँश वालवालिका स्वस्थ्य रहेको र केहीमा मात्रै चकलेटका कारण दाँत किराले खाएको, केहीमा आँखा र छातीमा साधारण समस्या तथा जंक फुडका कारण केहीमा पेटको समस्या देखिएको बताउनुभयो ।
‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी सेवा प्रदान गर्दै आएको नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी अस्पतालका विशेषज्ञद्वारा विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच गरिएको विद्यालयकी समादेशक प्रहरी निरीक्षक हिमा थोकरले बताइन ।
महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख, प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाइ समेत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य जाँच अवलोकन गर्न पुगेका थिए ।










प्रतिक्रिया दिनुहोस्