Banner News

अधिकारका लागि राजनीतिक लडाईं सकियो, मुलुक समाजवादको दिशातर्फ प्रवेश : मन्त्री अर्याल



तनहुँ, २१ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अबका दिनमा मानिसको अधिकारको लडाई गर्ने दिनेको समाप्त भएसँगै मुलुकको विकास र समृद्धिका लागि नेपाल समाजवादको दिशातर्फ प्रवेश गरेको बताउनुभएको छ ।

तनुहँको सुक्लागण्डकी ७ शान्तिनगरमा आयोजित अव्यवस्थित बसोबासलाई लालपूर्जा दिलाउन आयोजित छलफल कार्यक्रममा मन्त्री अर्यालले जनताको जीवनस्तर बदल्नेगरी वर्तमान सरकारले विशेष किसिमको कार्यक्रम ल्याएको भन्दै स्थानीयलाई कृषि क्षेत्रमा लाग्न आग्रह पनि गर्नुभयो । ‘हामी अहिले नयाँ ढंगले काम गर्ने ठाउँमा छौं । हामीले जमिनको वर्गीकरण गरेर काम गर्ने योजना पनि बनाएका छौं’, उहाँले भन्‍नुभयो ‘अब निर्वाहमुखी कृषि प्रणालीबाट जीवन बदल्न सकिँदैन । जमिनको अधिकतम प्रयोग नगरी माथि जान सक्दैनौं ।’

मन्त्री अर्यालले युवाहरूलाई उचित सीप सिकेर व्यवसायी बन्ने प्रयत्न गर्न समेत आग्रह गर्नुभयो । हिजोका पुरानो कानुनलाई परिवर्तन नगरी नेपालीको इच्छा र चाहाना पूरा नहुने भन्दै मन्त्री अर्यालले हल्लाको पछाडि नलाग्न जनतालाई आग्रह समेत गर्नुभयो ।

‘नेपाली समाज परिवर्तनको दौरानमा छ । हामी भर्खर समाजवादको दिशातर्फ प्रवेश गरेका छौं । अब अधिकारका लागि राजनीतिक लडाईं सकियो’, मन्त्री अर्यालले भन्नुभयो, ‘परिवर्तित नेपाली समाजको चाहानअनुसार हामीले पुरानो कानुनहरुलाई फेरेर नयाँ कानुन बनाउने हो । जनताको इच्छा र भावनामा ठेस पर्नेगरी सरकारले कुनै पनि काम गर्दैन ।’ संयम भएर हल्लाको पछाडि नलाग्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्री अर्यालले तनहुँको सुक्लागण्डकी नगरपालिकाका स्थानीयलाई दशैंभित्र लालपूर्जा दिनेगरी काम गर्न प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीलाई आग्रह गर्नुभएको छ ।