राजनीति

जुँगु पहिरोबाट २५५ जना विस्थापित : राहतसामाग्रीका साथ जनप्रतिनिधि घट्नास्थलमा



दोलखा, २३ साउन । नबराज काफ्ले । दोलखा जिल्लाको गौरीशकंर गाँउपालिका स्थित जुँगु क्षेत्रमा आएको भिषण पहिरोबाट २५५ जना विस्थापित भएका छन् ।

साउन १७ गते लगातार परको पानीले सिंगो गाँउनै जलमग्न भई पहिरो जाँदा २ जना वेपत्ता, १७ घर पूर्ण क्षति, ४ घर आंशिक क्षति र ४७ घर उच्च जोखिममा रहेका छन् । सो क्षेत्रमा दोलखाका सांसदहरु पार्वत गुरुङ्ग, पशुपति चौलागाई, सरस्वती वस्नेत, पूर्वमन्त्री आनन्द प्रसाद पोखरेल लगायत विभिन्न राजनैतिक दलका नेताहरु राहत सहित पीडितको घरमा पुग्नुभएको छ ।

पहिरो पीडितलाई तत्कालै आवश्यक पर्ने चामल, दाल, तेल, नुन व्यवस्थापन गरि टोलीले पहिरोको निरिक्षण समेत गरेको छ । पहिरोबाट विस्थापित घरपरिवारलाई स्थानीय नीलकण्ठेश्वर मावि र जनउपकार सहकारी भवनमा अस्थायी सेल्टर राखेर बसोबासको प्रबन्ध मिलाईएको छ । पहिरोले घरपालुवा चौपया र अन्य सम्पत्ति गरीब ५ करोड बराबरको क्षेति भएको अनुमान गरिएको छ । वेपत्ता मानिसको खोजिअनुसन्धान गर्नलाई काठमाडौ आर्मी हेडक्वाटरबाट ३ वटा सुँघ्ने कुकुर ल्याई बेपत्ता मानिसको खोजिअनुसन्धानलाई तिव्रता दिईएको दोलखा जिल्लाका डिएस्पी मानकाजि राईले जानकारी गराउनभयो ।

वास्तविक क्षति पहिचान गरि पीडित पक्षलाई क्षेतिपूर्ति उपलब्ध गराउन गौरीशकंर गाँउपालिका, वडा नं १ का वडाध्यक्ष झलक कुमार कार्कीको नेतृत्वमा क्षेति मूल्याकंन समिति समेत गठन गरिएको डिएस्पी राईले जानाकारी दिनुभयो । जिल्ला स्थित सिचांई, खानेपानी, भवन निर्माण सम्वन्धि प्राविधक टोली पनि सो क्षेत्रमा खटाइएको छ । उहाँहरुले आ आफ्नो कार्यलय भित्रको जिम्मेवारी अनुसार पिडितलाई वासास्थानदेखि लगायतका विषयमा अध्ययन अनुसन्धान गरि तत्काल उचित व्यवस्थापन गर्न क्रियाशिल रहनुहुने डिएस्पी राई बताउनु हुन्छ ।

त्यसैगरि राईले जुँगुमा पुग्नको लागि यातायातमा भएको अवरुद्ध लगभग खुलिसकेको व्यहोरा अवगत गराए । पहिरोको कारण पुरै गाँउनै त्रासमय बनेको अवस्था छ । पुरिएका जनावरहरु कुहिएर दुर्गन्ध फैलिएको छ । यति ठूलो विपद हुँदा पनि खासै राहत वितरण भने हुन नसकेको स्थानीयबासीहरुको गुनासो रहेको छ । उनीहरुलो वस्ती स्थानान्तरणका लागि राहतसामाग्रीका साथ पुगेका सांसदहरु समक्ष माग गरेका छन भने सांसदहरु हाललाई अस्थायी व्यवस्थापनमा सक्रिय भई स्थायी व्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकारसम्म कुरा पुर्याउने आश्वासन दिनुभएको छ ।