संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय दरभाउअनुसार हवाई इन्धन (एटीएफ) उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव गर्ने भएको छ । आयल निगमले अहिले दोब्बर महँगोमा बिक्री गर्दै आएको छ । नेपालमा हवाईसेवा सञ्चालन गर्दै आएका स्वदेशी तथा विदेशी एयरलाइन्सले यहाँ हवाई इन्धन अन्तर्राष्ट्रिय बजारको तुलनामा दोब्बर महँगो भएको गुनासो गरेपछि मन्त्रालयले सस्तोमा दिलाउन पहल थालेको हो ।
मन्त्रालयले भदौ पहिलो साता प्रधानमन्त्रीको अध्यक्षतामा हुने ४६ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा हवाई इन्धनको मूल्य घटाउने प्रस्ताव लैजाने निर्णय गरेको छ । ‘मन्त्रालयले यो विषय यसपटकको एनड्याकमा लैजाने निर्णय गरेको छ,’ पर्यटन सचिव मोहनकृष्ण सापकोटाले भने । बिहीबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले यसबारे निर्णय लिएको हो ।
हाल विदेशी एयरलाइन्ससँग निगमले प्रतिकिलोलिटर (१ हजार लिटर) हवाई इन्धनको १ हजार ५० अमेरिकी डलर (१ लाख १८ हजार ५ सय ५० रुपैयाँ) लिन्छ । उनीहरूले निगमले तोकेको मूल्य भारतलगायत अन्य मुलुकको दाँजोमा दोब्बर हाराहारी रहेको भन्दै मन्त्रालयलाई गुनासो राख्दै आएका छन् । भारतमा प्रतिकिलोलिटर ७ सय २० अमेरिकी डलर पर्छ ।
‘संसारभर हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ५ सय ८३ अमेरिकी डलर हाराहारी चलिरहेको छ,’ विश्वभरका ३ सय हाराहारी गन्तव्यमा उडान भर्ने एक विदेशी एयरलाइन्सका नेपाल प्रमुखले भने, ‘नेपालमा भने आयल निगमले अन्यत्रको व्यापार घाटा सन्तुलन गर्न हामीलाई दोब्बर भाउमा इन्धन बिक्री गर्छ । यसमा कुनै व्यावसायिक तर्क छैन । यो खुला लुट हो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।