काठमाडौं, २४ साउन । घरमा भएको टेलिभिजनमा आफुलाई मनपर्ने धार्मिक र आध्यातिमक प्रवचनदेखि योगसाधना सम्वन्धि च्यानल लगाउन होस या विदेशमा भएका छोराछोरीसंग मोवाइलमा कुरा गर्न जेष्ठ नागरिकलाई सक्षम बनाउने उद्धेश्यले बिहीबारदेखि जेष्ठ नागरिक आधारभूत कक्षा शुरु भएको छ ।
जेष्ठ नागरिकको लागि काम गर्दै आएको संस्था एजिङ्ग नेपालको आर्थिक सहयोगमा काठमाडौं १० देवीनगर, बानेश्वरस्थित प्रौढ कल्याण संघ नेपालमा दिवा सेवामा आउने गरेका ३० जना जेष्ठ नागरिक (आमाहरु)लाई सहभागी गराई कक्षा शुरु गरिएको हो ।
संस्थामा हरेक आइतबार र बुधबार दिवा सेवामा ६० जना भन्दा बढी जेष्ठ नागरिकहरु आउने गरेकोमा साधारण शिक्षा पनि नलिएका आमाहरुलाई छनौट गरि आधारभूत कक्षा सञ्चालन गरिएको हो ।
‘घरको टेलिभिजनको रिमोट कन्ट्रोल चलाउन नआउँदा हजुरबा÷हजुरआमाहरु मन परेपनि नपरेपनि वाध्यताले नाती नातिनीले हेर्ने गरेका …‘मुन्नि बदनाम हुई डार्लिङ्ग तेरे लिए’…जस्ता च्यानल हेर्न वाध्य छन’—एजिङ्ग नेपालका अध्यक्ष कृषण्मुरारी गौतम चट्याङ्ग मास्टरले भने ।
बुढाबुढीले कम्तिमा पनि टेलिभिजनको रिमोट कन्ट्रोल चलाउन र नयाँनयाँ आएका मोवाइल चलाउन जान्यो भने दिन विताउन सजिलो हुने र विदेशमा बस्ने आफ्ना छोराछोरीसंग मोवाइलमा कुरा गर्न सजिलो हुने पनि चट्याङ्ग मास्टरले बताए ।
बिहीबारदेखि शुरु भएको जेष्ठ नागरिक आधारभूत कक्षाको उद्घाटन तथा जेष्ठ नागरिकलाई शैक्षिक सामाग्री वितरण गर्दै काठमाडौं महानगरपालिका वडा नं १० का अध्यक्ष रामकुमार केसीले विगतमा छोरीको विहे गरेर पठाउँदा घरकी सासु कस्ती पर्ने हो भनेर माइती पक्षले चिन्ता लिनुपथ्र्याे तर अहिले बुहारी कस्तो पर्ने हो भनेर घरपक्षले चिन्ता लिनुपर्ने अवस्था आएको बताए ।
अहिले समाजमा माया ममता, मानवता, आदर, सद्भाव, आफन्तीपन सबै हराउँदै गएकोमा जेष्ठ नागरिप्रति गरिने व्यवहार फरक हुँदै गएकोमा वडाध्यक्ष केसीले चिन्ता व्यक्त गर्दै जेष्ठ नागरिकको सहयोगको लागि आफु हरदम तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।
प्रौढ कल्याण संस्था नेपालकी अध्यक्ष प्राध्यापक इश्वरी स्वारले जेष्ठ नागरिकहरु हरेक विषयमा पछाडि परेको उल्लेख गर्दै संस्थाले उनीहरुको स्वास्थ्यलगायतका विषयमा काम गर्दै आएको बताईन ।
कार्यक्रममा संस्थाका सल्लाहकार वरिष्ठ चिकित्सक गौरीशंकर लाल दास, वरिष्ठ कलाकार मदनदास श्रेष्ठलगायतले जेष्ठ नागरिकका समस्याका बारेमा आफ्नो धारणा राखे भने जोशिला खनाल र यमुना ढुंगेलले भजन प्रस्तुत गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्