Banner News

मन्त्री भट्टराईद्वारा तीन दिनभित्र भ्रमण वर्षसँग सम्बन्धित योजना बुझाउन आग्रह



काठमाडौँ, २५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० सँग सम्वन्धित योजना तीन दिनभित्र बुझाउन सरकार र निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

भ्रमण वर्ष सचिवालयले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री भट्टराईले बोल्दै सबै माग र मुद्दा सम्बोधनका लागि आफूले तत्कालै बैठक डाक्ने समेत बताएका छन । उक्त कार्यक्रममा पर्यटन व्यवसायीले नेपाल वायुसेवा निगम, महँगो हवाई इन्धन र भाडा, पूर्वाधार, भिसा शुल्क, ट्रेकिङ रुटमा लगाइएका शुल्क, एयर कन्जेसनमा सुधार ल्याउनुपर्ने बताएका थिए ।

मन्त्री भट्टराईले भने, ‘नेपाल भ्रमण वर्ष–२०२० सिंगो नेपाल र जनतासँग जोडिएको विषय हो । भ्रमण वर्षबाट कोही भाग्न सक्दैन । झन् मैले त भाग्नै मिल्दैन, म भाग्दिनँ । हामी पनि कोही नभागौं । सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’

आगामी डिसेम्बरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न गर्न स्रोत र साधनको कमी हुन नदिने बताउँदै उनले भने, ‘डिसेम्बर ३० तारिखमा विमानस्थलको चाबी हस्तान्तरण गर्नका लागि मैले ठेकेदार कम्पनीलाई निर्देशन दिएको छु ।’